0 COMMENTS

काठमाण्डौ, २३ भदौ / शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत “बाबा”ले हिन्दू राष्ट्र र नेपाल अधिराज्यभित्र बसोबास गरेर सौहार्दपूर्ण वातावरणमा बाँच्न र रमाउने सनातनीहरु बारे कुण्ठाग्रस्त भई जथाभावी बोल्ने बाबुराम भट्टराईलाई नेपालमा खुट्टा टेक्न समेत नदिइने आशय प्रकट गरेका छन‍् ।

सोमबार एक वक्तव्य जारी गर्दै शिवसेना नेपालका केन्द्रिय अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो । अनिल बस्नेतद्वारा जारी वक्तव्य पाठक महानुभावकोलागि जस्ताको तस्तै…

इसाइबाट संक्रमित बाबुराम भट्टराईका सम्बन्धमा

सनातनदेखि जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्दै मिलेर बसेको नेपाली समाजमा विग्रहको आगो सल्काउने विधर्मीहरुका कारण आज हाम्रो मुलुक यो जर्जर अवस्थामा पुगेको छ । हामी नेपालीहरुलाई जातका आधारमा, धर्मका आधारमा, संस्कृति र भाषाका आधारमा विभाजन गराउने, एक आपसमा मर्न र मार्न उक्साउने तत्वलाई अब नेपाली जनताले पनि चिन्न थालेका छन् ।

गोर्खामा विद्यालय पढ्दै इसाई मिसिनरीबाट संक्रमित एक बिरामी मस्तिष्कका कारण हामीले हाम्रा १७ हजार नेपाली दाजुभाई दिदीबहिनीलाई गुमाउन पुग्यौं । इतिहासले माफी दिन नसक्ने ती पात्र अरु कोही नभएर नेपालका पूर्वप्रधानमन्त्री विध्वंसका नायक बाबुराम भट्टराई नै हुन् ।

नेपाल राष्ट्रले सम्मान दिएको व्यक्तिका विषयमा यस्ता उपमा दिइरहन हामीलाई किमार्थ रहर थिएन । तर उनले फेरि पनि आफू यो देशमा नेपाली जनतालाई दुःख दिनकै लागि जन्मिएको प्रमाणित गरेका छन् । हालै उनले समता फाउन्डेसनको आयोजनामा भएको एक कार्यक्रममा ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ, त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ भन्दै नेपाली दाजुभाईहरुमा हिन्दुधर्मप्रति घृणा उत्पन्न गराउने चेष्टा गरेका छन् ।

उनको अभिव्यक्ति हामीले धेरै अघिदेखि नियालिरहेका छौं । उनी राष्ट्रिय पूँजीपतिहरुलाई शोषक हुन् भनेर घृणा फैल्याउछन् । थारुहरुलाई अर्को जातिले हेपेको छ, आन्दोलन गर्नूस भनेर उचाल्छन् । मधेसीलाई पहाडीविरुद्ध उचाल्छन् । अहिले दलितहरुलाई एउटा धर्मविशेषविरुद्ध घृणा उत्पन्न हुने गरी बोलेका छन् ।

यिनलाई जनवरी १ मा नेपालीहरुले टोपी दिवस मनाएको पनि मन पर्दैन । अझ ढाका वा भादगाउँले टोपी त यिनलाई अझै मन पर्दैन ।

बाबुराम भट्टराई आफैंले संविधान जारी गरेर मधेसमा गएर मधेसीलाई उचाल्ने र भारतलाई नाकाबन्दी गर्न सुझाव दिएका थिए ।

सधै सधै एक नेपालीलाई अर्को नेपालीविरुद्ध घृणा उत्पन्न गराउने काममा लागेका भट्टराईको दिमागमा सत प्रतिशत नेगेटिभिटीमात्रै रहेको हाम्रो ठहर छ । यस्ता पात्रले नेपालमा राजनीति गर्ने होइन, आराम र उपचारको आवश्यकता पर्दछ ।

विगतमा १७ हजार मारेर पनि आफू एक पटक मात्रै प्रधानमन्त्री हुन पाएकोले अब केही हजार नेपालीलाई फेरि मर्न-मार्न उक्साएर आफ्नो स्वार्थ पूर्ति गर्ने सोच पनि उनमा आएको हुन सक्छ । किनभने हिंसाको स्वाद परेको पशु होस् वा मानव उसले त्यो बानी छाड्न सक्दैन ।

अतः नेपालीलाई नेपालीसँग भिडाउने नै चाहना हो भने उनकालागि यो पवित्र देवभूमि, तपभूमिमा बस्ने अधिकार छैन । जसरी सूर्यले कसैलाई पक्षपात नगरी समान ताप दिन्छ, वायुले अक्सिजन दिन्छ, त्यसै गरी धर्म र शास्त्रले सबैका लागि समान ज्ञान बाँढ्दछ । हिन्दुहरुकै मतले आज आफू संसदमा छिर्न पाएको समेत ख्याल नगरी जथाभावी बोल्दै हिँड्ने हो भने उनका लागि यो मूलुकमा खुट्टा टेक्ने स्थान नरहन सक्छ । यति कुरा हेक्का रहोस् भन्ने जानकारी दिन्छौं ।

अन्त्यमा,
हिन्दु धर्मकै ग्रन्थहरुमा लेखिएको छ कि ‘मनुष्य जन्मका आधारमा ब्राम्हण, क्षेत्रीय, वैश्य, सुद्र हुँदैन । कर्मका आधारमा मानिसको वर्ग निर्धारण हुन्छ । जुन हातले वेद समाउँछ्, ऊ ब्राम्हण हुन्छ । जसले शस्त्र उठाउँछ ऊ क्षेत्रीय हुन्छ ।’
त्यतिमात्रै होइन, मान्छे कर्मका आधारमा हरेक दिन सबै जातमा रुपान्तरण भइरहेको हुन्छ । बिहान दिशापिसाब सरसफाइइ गर्दा सुद्र, भगवानको पूजाआराधना गर्दा ब्राम्हण, दिउँसो आयआर्जनका लागि काम गर्दा वैश्य र आफ्नो र परिवारको सुरक्षा गर्दा क्षेत्रीयको भूमिकामा एकै व्यक्ति हुन्छ ।

हाम्रो वैदिक सनातन धर्ममा जातभात, तल्लोमाथिल्लो जात भन्ने छैन । शिव सेनाले सदैव जातका आधारमा मानिसहरुले गर्ने विभेदलाई कलंक मान्दै आएको छ ।

जय शम्भो
जय देश, जय राष्ट्र
जय मातृभूमि, जय नरेश ।

अनिल बस्नेत ‘बाबा’
अध्यक्ष
शिव सेना नेपाल
भदौ २३, २०७६

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।