0 COMMENTS

वि.सं. २०७६ भाद्र २१ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अदुःख नवमी व्रत, अविधवा नवमी, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) नवमी तिथि, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि दशमी तिथि, ज्येष्ठा नक्षत्र, बिहान १०:०८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बिहान १०:०८ बजेसम्म, त्यसपछि धनु राशिमा, प्रीति योग, बेलुका १०:२४ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा बालब करण दिउँसो ०१:१२ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०१:०३ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, नक्षत्रशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४४ बजे, सूर्यास्त : साँझ ०६:१८ बजे, दिनमान : ३१ घडी २३ पला (१२ घण्टा ३३ मिनेट, रात्रीमान : २८ घडी ३७ पला (११ घण्टा २७ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिनको सुरुमा आठौं भावमा चन्द्रमा रहने छ, खासगरी बिहानीपख तुजुक देखाउने र हौसिने क्रियाकलापबाट हानि पुग्नसक्छ । दिउँसोबाट भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसपछि सुखद समाचार सुन्न पाइने छ । गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । मानसम्मान र प्रशंसा प्राप्त हुनेछ । रोकिएका काम सुरु गने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मिश्रित प्रभाव भएको दिन छ, खासगरी भावना र उमङ्गमा नियन्त्रण गर्नुपर्छ, नत्र दिनको अन्त्यमा मनमा उदासी छाउनसक्छ । उदयकालको चन्द्रमा सातौं भावमा रहेकाले मनमा उत्साह र उमङ्ग नै देखिने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । हाँकेका र ताकेका काममा उपलब्धी प्राप्त हुनेछ । मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । बन्दव्यापार र साझेदारीका काम अपराह्न पहिले नै राम्रो देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । प्रेमभाव र प्रणयसुखका लागि अनुकूल समय छ । खासगरी छात्रछात्राको मनोरञ्जनात्मक क्रियाकलापमा झुकाव रहने दिन हो, लक्ष्यप्रति सावधान हुन नसके निराशा हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको सुरुवातमा बौद्धिक क्षेत्रमा राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित रहने छ । बुद्धि र चातुर्य प्रदर्शन गर्नेहरूका लागि लाभमूलक समय छ । दिउँसोबाट छैटौं भावमा राशिपति चन्द्रमाको प्रवेश हुँदैछ, त्यसपछि प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । रिसको कारणले असर पुर्याउने सम्भावना पनि देखिन्छ । प्रेमीप्रेमिकाका बीचमा खटपटी बढ्ने सम्भावना छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद नगर्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन बौद्धिक र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूका लागि विशेष महत्त्वको दिन हुनेछ । सुरुमा मनमा उदासिनता र खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । दिनको सुरुवातमा केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । जेजस्तो दौडधूप भएपनि यसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । छोराछोरीका क्रियाकलापबाट उमङ्ग र हर्षको सञ्चार हुनेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुने भएकाले आफैंलाई सन्तुष्टि प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा तेस्रो भावमा चन्द्रमा रहेकाले सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट चौथो घरमा पुग्ने चन्द्रमाको प्रभावले असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आज जेजस्तो भए पनि व्यवहारिक कुरामा केन्द्रित हुनु बुद्धिमानी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
द्वितीय र तृतीय भावमा चन्द्रमा रहने उत्तम समयको आगमन भएको छ । सुरुमा सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । आत्मीयजनहरूसँग भेटघाट हुनेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । अभिभावक, गुरुजन र मान्यजनको सहानुभूति मिल्नेछ । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज आफ्नै राशिमा रहेको चन्द्रमाले धनभावमा प्रवेश गर्ने दिन हो । दिउँसोबाट आम्दानी र लाभ हुने विषयमा ध्यानकेन्द्रित हुनसक्छ, दिन खासै नराम्रो नभएकाले जोस र जाँगरको संयमताका साथ प्रयोग गरी अघि बढ्नु उचित हुने छ । याद गर्नुहोला, गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ । आर्थिक पक्ष बलियो नभए पनि केही लाभमूलक काम बन्ने सम्भावना छ । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । अरुका काम र समस्यामा अलमलिनु पर्नेछ । कुटुम्बपक्षका क्रियाकलाप देखेर चित्त नबुझ्न सक्छ । बोलीको प्रतिकूल अर्थ लाग्न सक्ने भएकाले थोरै बोलेको जाति हुन्छ । आम्दानी राम्रो छ, तर धनसञ्चय गर्न सकिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उदयकालमा द्वादश भावमा चन्द्रमा भएपनि आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिउँसो बाह्रौं भावमा चन्द्रमा जाने भएकाले दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । मनमा रिसराग र उत्तेजनाको उदय हुने दिन हो, तर याद गर्नुहोला, प्रतिशोधको भावना त्याग्नु राम्रो हुन्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुनसक्छ । पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मस्थान र राज्यस्थानमा एकसाथ चन्द्रयात्रा हुने राम्रो दिन छ । आज सुरुमा धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । कुलकुटुम्ब र बन्धुवान्धवबाट सुखद समाचारहरू प्राप्त हुनेछन् । देश/परदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । लामो दूरीको यात्राका क्रममा वा प्रशासनिक क्षेत्रका उल्झन सुल्झाउने राम्रो समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफ्नै पाखुरी र बुद्धिका बलमा कर्मक्षेत्रमा पहिचान बनाउने महत्त्वपूर्ण दिन छ । बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।