0 COMMENTS

वि.सं. २०७६ भाद्र २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, श्री राधाष्टमी व्रत (श्रीकृष्णकी अनन्य उपासिका राधाजीको जन्मदिन), गोरखकाली पूजा, महालक्ष्मी व्रतको प्रारम्भ, कायाष्टमी, कागेश्वर मेला, थकालीहरूको फालो पर्व , भाद्रपद शुक्लपक्ष (ञलाथ्व) अष्टमी तिथि, मध्यरात्रीपछि ०१:२२ बजेसम्म, त्यसपछि नवमी तिथि, अनुराधा नक्षत्र, बिहान १०:०३ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, मध्यरात्रीपूर्व ११:४२ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०१:४६ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:२२ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४४ बजे, सूर्यास्त : साँझ ०६:१९ बजे, दिनमान : ३१ घडी २७ पला (१२ घण्टा ३५ मिनेट, रात्रीमान : २८ घडी ३३ पला (११ घण्टा २५ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुनसक्छ । तापनि, झिनामसिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ । आठौं चन्द्रमा भए पनि सकारात्मक ऊर्जा प्राप्त भएकाले आत्मबल र हिम्मत बढ्ने छ । स्वास्थ्यमा देखिएको कमजोरी निराकरण हुनेछ । आँटेको काममा देखिएका व्यवधान पन्छाएर उपलब्धी लिन सकिने छ । तर सानातिना काममा अल्मलिएर समय खेर जानसक्छ । अनि सवारी हाँक्दा र बाटो काट्दा सचेत रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन फुरुङ्ग हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । आत्मीयजनहरूसँग रमाइलो गर्ने अवसर प्राप्त हुने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैनन् । छात्रछात्राले प्रतिस्पर्द्धात्मक क्रियाकलापमा संलग्न हुने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज बौद्धिक क्षेत्रमा लागेकाहरूका लागि विशेष दिन हो । अध्ययनमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रमा पनि राम्रै देखिन्छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने सङ्केत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चतुर्थ भावमा रहेको चन्द्रमाको अशुभ प्रभाव देखिन्छ । परिवारमा आमा वा पति/पत्नीको स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ । पारिवारिक भेटघाटमा किचलो हुनाले मन खिन्न हुनसक्छ । आत्मीयजनसँगको दूरी बढ्ने छ । अरूको फाइदाका लागि उपयोग भइने छ एवं परिस्थिति पनि आफ्ना लागि प्रतिकूल नै रहने न्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले पनि दुःख दिनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । तर अत्तालिनु पर्दैछ, आफ्नै राशिमा राशिपति सूर्यको उपस्थिति छ, योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । खासगरी छात्रछात्राले परीक्षा र प्रतियोगितामा राम्रो गर्नसक्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । परिश्रमको बलमा प्रतिस्पर्धाको दौडमा विजय पहिल्याइने छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । मानसम्मानको संरक्षणमा भएका प्रयास सफल हुनेछन् । गरेको प्रयासअनुरूप व्यावसायिक काममा राम्रो फाइदा उठाउन सकिने छ । आकस्मिक रूपमा नचिताएको क्षेत्रबाट धनलाभ हुने सङ्केत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी/कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन् । स्वास्थ्य सबल रहने छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ । समय राम्रो छ, तर आज रिसराग र उत्तेजनामा नियन्त्रण गरी खटेको जाति हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खर्च गराउने भावमा चन्द्रमाको बास छ तर चन्द्रमाका साथमा राशिपतिको मिलन भएको राम्रो दिन छ, त्यसैले सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय उत्साहवर्द्धक रहेको छ । राज्यस्थानमा चन्द्रमा र बृहस्पतिको युतिसम्बन्ध रहेकाले सम्मानित र विशिष्ट व्यक्तिको सहयोग जुटाउन सक्ने दिन हो । रोकिएका सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । छात्रछात्राका निमित्त पढाइमा पनि राम्रै प्रगति हुने समय छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कर्मक्षेत्रमा गजकेशरी योग सिर्जना भएकाले प्रतिष्ठित र कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । आज अल्छी गरेर बस्नु हुँदैन, प्रयत्न गरेमा मात्र महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यस्थानमा राशिस्वामी बृहस्पति र चन्द्रमाको मिलन भएको महत्त्वपूर्ण समय देखिन्छ । आज चिताएको जुनसुकै काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राज्ञिक र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । परोपकारी र धार्मिक गतिविधिमा संलग्न हुन सकिन्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।