0 COMMENTS

वि.सं. २०७६ श्रावण ११ गते शनिबार तदनुसार ई. सं. २०१९ जुलाई २७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण कृष्णपक्ष (दिल्लागा) दशमी तिथि, दिउँसो ०३:२८ बजेसम्म, त्यसपछि एकादशी तिथि, कृतिका नक्षत्र, दिउँसो ०४:२८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, बिहान ०५:५६ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०३:२८ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०३:१३ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२४ बजे, सूर्यास्त : साँझ ०६:५५ बजे, दिनमान : ३३ घडी ४७ पला (१३ घण्टा ३१ मिनेट, रात्रीमान : २६ घडी १३ पला (१० घण्टा २९ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:४७ देखि १०:२८ सम्म, यमघण्ट : दिउँसो ०१:५१ देखि ०३:३२ सम्म, गुलिक काल : बिहान ०५:२४ देखि ०७:०६ सम्म, काल वारवेला : बिहान ०५:२४ देखि ०७:०६ सम्म र साँझ ०५:१४ देखि ०८:१४ सम्म, आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : बिहान ०७:०६ देखि ०८:४७ सम्म, अमृत वारवेला : दिउँसो ०३:३२ देखि ०५:१४ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।, भोलिको चाडपर्व र उत्सव : कामिका एकादशी व्रत, द्विपुष्कर योग बेलुका ०४ बजेर ४१ मिनेटपछि, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धनस्थानमा चन्द्रमा भए पनि आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका काममा खट्नु पर्ने दिन छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा समय प्रदान गर्नुपर्नेछ । छात्रछात्राको विवादमा दिलचस्पी बढ्ने भएकाले बोलीमा संयमता अपनाउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुनेछैन, बोलीको विपरीत अर्थ लाग्न सक्छ, तपाईंका कामधन्दामा कसैको सरसहयोगको आशा नगरेको राम्रो हुन्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धा भिड्दै हुनुहुन्छ भने अलि बढी लगनशील बन्नुहोला, त्यस्तै अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । छात्रछात्राले राम्रो नतिजाका लागि मिहिनेत गर्नु आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, आज राज्यस्थानमा चन्द्रमा रहेकाले सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । गृहस्थीहरूलाई भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यापारीहरूको आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । उमेरदारका लागि मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । विद्यार्थीहरूको नयाँ ज्ञान प्राप्त हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । तर नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । बिहानीपख दिक्कलाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, प्रतिफल नआउने क्षेत्रमा धनलगानी गर्ने मनसाय बन्नसक्छ । सम्पत्तिको कारोबार गर्दा अभिभावक र जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । सामान्य घरेलु कामकाजमा समय व्यतीत हुनसक्छ । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । विगतको परिश्रमको समुचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ । गृहिणीहरूका निमित्त धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोले/भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, हातहतियार र मेसिनको प्रयोगमा सचेतता अपनाउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्दव्यापारमा ठूलो उपलब्धी लिन सकिने समय त छैन, तर आर्थिकपक्ष बलियै देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नत्र नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यवसायको चापले गर्दा प्रणयप्रसङ्ग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ वा पति/पत्नी वा प्रेमी/प्रेमिकाको स्वास्थ्यस्थिति सन्तोषजनक नहुने सम्भावना छ । चिडचिडेपन, दिकदारी र झर्कोफर्को बढ्ने सङ्केत देखिन्छ, सचेत रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । विद्यार्थीहरूले तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ लिन सक्नेछन्, तर गृहिणीहरूले बाझोजुझोमा संयमता अपनाएको राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज खासगरी छात्रछात्रा तथा प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा संलग्नहरूले उपलब्धी हासिल गर्ने समय छ, अनि गृहस्थीहरूले सन्तति वा भाइबहिनीका समस्या हल गर्न केन्द्रित हुनु पर्ने समय छ र तिनको शिक्षादीक्षा र भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । प्रायः सबैलाई इष्टमित्र र बन्धुबान्धवले आवश्यक सहयोग र सद्भाव प्रदान गर्नेछन् । खानपान र मनोरञ्जनको अवसर पनि जुर्नेछ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । बौद्धिक र सृजनात्मक क्षमतामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । मन भावुक र प्रेमिल बन्नाले गरेको काममा अवरोध हुने सम्भावना पनि छ, त्यसैले जुनसुकै काममा लगनशील बन्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चौथो भावमा रहेको चन्द्रमाको प्रभावले घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन् । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । निर्णायक क्षमतामा कमी आउने छ, त्यसैले कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । परीक्षा र प्रतिस्पर्द्धामा सफल भइने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभको अवसर आउने छ । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।