0 COMMENTS

वि.सं. २०७६ श्रावण ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : साउन महिनाको पहिलो सोमवार, कृष्णप्रणामीहरूको वितक कथा प्रारम्भ, श्रावण कृष्णपक्ष (दिल्लागा) पञ्चमी तिथि, दिउँसो १०:४४ बजेसम्म, त्यसपछि षष्ठी तिथि, पूर्वाभाद्रा नक्षत्र, बिहान ०८:२३ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शोभन योग, बिहान ०६:२४ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा तैतिल करण दिउँसो १०:४४ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपूर्व ११:३७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२२ बजे, सूर्यास्त : साँझ ०६:५७ बजे, दिनमान : ३३ घडी ५९ पला (१३ घण्टा ३६ मिनेट, रात्रीमान : २६ घडी ०१ पला (१० घण्टा २४ मिनेट)

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:२२ देखि ०७:०४ सम्म र साँझ ०५:१५ देखि ०८:१५ सम्म, लाभ वारवेला : दिउँसो ०३:३३ देखि ०५:१५ सम्म, शुभ वारवेला : बिहान ०८:४६ देखि १०:२८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलि कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ र सँगीसाथी तथा छरछिमेकमा पनि विवाद बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज कर्मसिद्धिको समय हो, जस्तै बाधाअड्चन र विघ्न पनि दूर गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रेमसम्बन्धमा समेत निरसता छ । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सचेतता अपनाउनु पर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ र दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज छैटौं घरमा चन्द्रमा छ, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुर्ख्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । सरकारी कामबाट पनि फाइदा नै छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज कल्पना, भावना र निराशामा रुमल्लिनु पर्ने समय छ । तर बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा चौथो घरमा भए पनि राशिस्वामी बृहस्पतिसँग त्रिकोणात्मक सम्बन्ध बनाएकाले आज दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण सुदृढ बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । साथीभाइ र मित्रबाट पनि विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । मेवा, मिष्ठान्न र परिकार मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुने दिन छ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । कुनै नयाँ काममा मन जानेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।