0 COMMENTS

वि.सं. २०७६ श्रावण ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुलाई १९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : कृष्णप्रणामीहरूको श्रीप्राणनाथजीको धामगमन, धनिष्ठापञ्चक प्रारम्भ दिनको ०१ बजेर ५६ मिनेटपछि, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), श्रावण कृष्णपक्ष (दिल्लागा) तृतीया तिथि, (अहोरात्र व्याप्त), धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०३:११ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ०१:५६ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, आयुष्मान् योग, मध्यरात्रीपछि ०५:०६ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा वणिज करण साँझ ०५:५० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०६:४८ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२० बजे, सूर्यास्त : साँझ ०६:५९ बजे, दिनमान : ३४ घडी ०५ पला (१३ घण्टा ३८ मिनेट, रात्रीमान : २५ घडी ५५ पला (१० घण्टा २२ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२७ देखि १२:०९ सम्म, यमघण्ट : दिउँसो ०३:३४ देखि ०५:१६ सम्म , गुलिक काल : बिहान ०७:०३ देखि ०८:४५ सम्म, रोग वारवेला : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म, अमृत वारवेला : बिहान ०८:४५ देखि १०:२७ सम्म, आज पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलि कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि परेको दिन छ, तथापि व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । गरेका प्रयासमा सफलता मिल्नेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । भरेराति आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । सातौं भावमा चन्द्रमाको प्रवेश हुनाले बेलुकीपख मन रोमान्टिक बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अशुभ चन्द्रमाउपर शुभ ग्रहको दृष्टि हुनाले सुरुमा मनमा नैराश्य र वैराग्यका भाव सञ्चरण भए पनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा बृद्धि हुनेछ । परिवारका सदस्यहरूमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन छ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ, आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उदयकालको चन्द्रमा बाह्रौं भावमा रहेकाले साँझसम्म विभिन्न समस्याले मन रुमल्लिनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । बन्दव्यापारसमेत कमजोर नै रहने छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । साँझमा बाह्रौं चन्द्रमाले निराशा बढाउन सक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।