0 COMMENTS

वि.सं. २०७६ आषाढ २१ गते शनिबार तदनुसार ई. सं. २०१९ जुलाई ०६ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : अग्निवास(होमादि), आषाढ शुक्लपक्ष (दिल्लाथ्व) चतुर्थी तिथि, दिउँसो ०४:३२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०२:११ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वज्र योग, बिहान ०५:१७ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा वणिज करण बिहान ०५:४४ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण दिउँसो ०४:३२ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१५ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २५ पला (१३ घण्टा ४६ मिनेट, रात्रीमान : २५ घडी ३५ पला (१० घण्टा १४ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:४२ देखि १०:२५ सम्म, यमघण्ट : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म, गुलिक काल : बिहान ०५:१५ देखि ०६:५८ सम्म, काल वारवेला : बिहान ०५:१५ देखि ०६:५८ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०६:५८ देखि ०८:४२ सम्म, अमृत वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । गृहिणीहरूमा भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । कामदार र कर्मचारीले आत्मोन्नतिको अवसर पाउने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । छात्रछात्रा कल्पना र भावनामा रुमल्लिने समय छ । गृहिणीहरूमा दिकदारी बढ्ने छ । तर आज देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । छात्रछात्राले प्रतिष्ठा पाउने समय हो भने गृहिणीहरूको मन फुरुङ्ग हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । गृहिणीहरूलाई पारिवारिक खुसी मिल्नेछ, नन्दआमाजु र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । बन्दव्यापारमा संलग्न हुनेहरूले दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ । विद्यार्थी गफगाफमा केन्द्रित हुँदा पढाइ बिथोलिने सम्भावना देखिन्छ । तर आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमङ्ग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा/व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो नभए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । जुनसुकै क्रियाकलापमा धैर्य र संयम हुनु आवश्यक देखिन्छ, किनभने कार्यक्षेत्रमा विवाद हुने तथा घरपरिवारमा झैझगडा हुने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । गृहिणीहरूमा दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । कर्मचारी र कामकाजी व्यक्तिले रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । छात्रछात्राको ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । गृहिणीहरूले छरछिमेकीका काममा खट्नु पर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । गृहिणीहरूलाई आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् । छात्रछात्राले परीक्षा र प्रतियोगितामा सफलता आर्जन गर्ने समय छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक र परोपकारी क्रियाकलापप्रति झुकाव राखेमा सबैको भलो हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । कर्मचारीले हाकिमसँग, छात्रछात्राले गुरुजनसँग र गृहिणीहरूले मान्यजनसँग विवाद गर्नुपर्ने हुनसक्छ । युवा र किशोरकिशोरीमा गुप्त र मानसिक रोगले सताउन सक्छ । सबैका लागि झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । साथीभाइ टाढिन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आज । कामदार र कर्मचारीले पेसा वा व्यवसायमा देखिएका असजिला पक्षको निराकरणका लागि गरेको प्रयास सफल हुनसक्छ । छात्रछात्रा तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय हुनेछन् । प्रायः सबैका लागि दिन भाग्यशाली भएर देखा पर्नेछ । प्रणयसुखका लागि अनुकूल समय छ, प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक सन्तुलन गडबडाउन सक्छ, मानसिक तनाव बढ्ने समय हो । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, मौसमी रोगव्याधिको सम्भावना देखिन्छ, आहारविहारमा सतर्कता अपनाएको राम्रो हो । छात्रछात्रा झैझगडा र तर्कवितर्कमा आकर्षित हुनेछन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।