0 COMMENTS

वि.सं. २०७६ आषाढ १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ जुलाई ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, श्री जगन्नाथ रथयात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) द्वितीया तिथि, बेलुका ०९:१३ बजेसम्म, त्यसपछि तृतीया तिथि, पुनर्वसु नक्षत्र, बिहान ०६:४१ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, दिउँसो ११:०० बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा बालब करण बिहान १०:१५ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:१३ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१४ बजे . सूर्यास्त : साँझ ०७:०१ बजे. दिनमान : ३४ घडी २७ पला (१३ घण्टा ४७ मिनेट. रात्रीमान : २५ घडी ३३ पला (१० घण्टा १३ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म. यमघण्ट : बिहान ०५:१४ देखि ०६:५८ सम्म. गुलिक काल : बिहान ०८:४१ देखि १०:२५ सम्म, काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म, रोग वारवेला : बिहान ०६:५८ देखि ०८:४१ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०५:१८ देखि ०८:१८ सम्म, लाभ वारवेला : दिउँसो १२:०८ देखि ०१:५१ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो नै देखिन्छ । प्रायः सबैलाई आफन्त, सहयोगी र मित्रवर्गको सहयोग मिल्नेछ, परिणामतः महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । गृहिणीहरूका लागि परिवारमा रमाइलो जमघट हुनेछ र मान्यजनले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । किशोर/किशोरीका लागि मानसिकतामा विचलन आउनाले पढाइलेखाइ बिथोलिन सक्छ । बन्दव्यापारमा संलग्नहरूले दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानी गर्नु राम्रो हो ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने दिन छ । खानपानको समयमा परिवर्तन हुनसक्छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्न सक्छ, तर निरन्तरता दिनुपर्छ, अन्त्यमा प्रतिष्ठा प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुने सम्भावना पनि छ । छात्रछात्राको साथीभाइ र समाजका काममा खट्ने समय छ । बन्दव्यापारमा खटेको अनुपातमा राम्रै आम्दानी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । राम्रो आर्थिक लाभ प्राप्त हुने संकेत छ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । छात्रछात्राले पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाइने समय छ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । कुनै नयाँ काममा मन जानेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने समय छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा अचानक खर्च गर्नुपर्ने परिस्थिति बन्नेछ । मन भारी हुने समय छ, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ र सँगीसाथी तथा छरछिमेकमा पनि विवाद बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुने समय छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । विद्यार्थीहरूका लागि अध्ययन अध्यापन सफल रहेको छ । व्यवसायीहरूले पनि व्यापारबाट सोचेजस्तै लाभ पाउने समय छ । पशुव्यवसाय र कृषिपेसाबाट पनि सन्तुष्टि नै पाइने छ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । गृहिणीहरूले विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला । सबैका लागि रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आज कर्मसिद्धिको समय हो, जस्तै बाधाअड्चन र विघ्न पनि दूर गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । छात्रछात्राले पढाइमा मन लगाउने समय छ, कुनै नयाँ विषयवस्तुको जानकारी प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नवौं भावमा चन्द्रमा पुगेको छ । अब स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले पनि तपाईंबाट लाभ पाउने समय छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । घरायसी सम्बन्ध राम्रै रहने छ, आज पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल प्राप्त हुनेछ । पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । गृहिणीहरू दानपुण्यप्रति आकर्षित बन्नुहोला, घरिघरि रिस र आवेग बढ्न सक्छ, धैर्य भई अघि बढ्नुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । पेसा वा व्यवसायमा समय दिन नसक्नाले घाटा लाग्नसक्छ, हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । विपरीतलिङ्गी सहयात्री वा जीवनसाथीबाट प्राप्त सल्लाह नमान्दा एवं रमाइलोका लागि गरिएका काममा फाइदा छैन । यात्रामा सावधानी अपनाउनु होला, नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । नजिकैको स्त्रीलिङ्गी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । छात्रछात्राका लागि सामान्य दिन रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने दिन छ । छरछिमेकमा असामञ्जस्य बढ्ने छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । खासगरी छात्रछात्राको अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । गृहिणीहरूले छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध गर्नेछन् । आम व्यक्तिहरूका लागि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।