0 COMMENTS

वि.सं. २०७६ आषाढ १४ गते शनिबार तदनुसार ई. सं. २०१९ जुन २९ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : वैष्णवहरूले लिने योगिनी एकादशी व्रत, आज एकादशी र शनिवारको विशेष संयोग परेको दिन, त्रिपुष्कर योग बिहान ०८ बजेर ११ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आषाढ कृष्णपक्ष (तछलागा) द्वादशी तिथि, भोलिबिहान ०४:०१ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, भरिणी नक्षत्र, बिहान ०८:११ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि बृष राशिमा, धृति योग, बेलुका ०८:५३ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा कौलव करण दिउँसो ०४:०२ बजेसम्म, त्यसपछि तैतिल करण भोलिबिहान ०४:०१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे सूर्यास्त : साँझ ०७:०१ बजे दिनमान : ३४ घडी ३१ पला (१३ घण्टा ४८ मिनेट रात्रीमान : २५ घडी २९ पला (१० घण्टा १२ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:४० देखि १०:२३ सम्म, यमघण्ट : दिउँसो ०१:५१ देखि ०३:३४ सम्म, गुलिक काल : बिहान ०५:१३ देखि ०६:५६ सम्म, काल वारवेला : बिहान ०५:१३ देखि ०६:५६ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०६:५६ देखि ०८:४० सम्म, अमृत वारवेला : दिउँसो ०३:३४ देखि ०५:१८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : असारको पन्ध्र (दहीचिउरा खाने दिन), रवि प्रदोष व्रत, त्रिपुष्कर योग बिहान ०४ बजेर ०१ मिनेटसम्म, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । आज विद्यार्थीहरूका लागि प्रतिष्ठित काम गर्ने मौका छ, आत्म–विश्वास बढ्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिहान बाह्रौं भावमा रहेको चन्द्रमाका कारण दिनभरि विभिन्न समस्या झेल्ने समय छ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । मूल रूपमा आज दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । बन्दव्यापारसमेत कमजोर नै रहने छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन । छात्रछात्राले उच्च आकाङ्क्षामा ब्रेक लगाएको जाति हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छात्रछात्राको पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन, त्यसैले गुरु र मान्यजनको सल्लाह र सुझावलाई पालना गर्नु मुनासिब हुने देखिन्छ । गृहिणीहरूले आज देवालय, मठमन्दिर वा कुनै बृद्ध नातेदारको दर्शन पाउनु हुनेछ । आमव्यक्तिका लागि विश्वासको वातावरण बन्नेछ, निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । साँझमा बाह्रौं चन्द्रमाले निराशा बढाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र मान्यजनको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्ने र काम बनाउने दिन हो । अरुले पनि आज ठूलाबडाको सहयोग पाउने दिन छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । छात्रछात्राले चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सक्दैनन्, तर प्रतिस्पर्द्धा र प्रतियोगितामा सफल हुने दिन छ । प्रायः सबैको कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय आएको छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । छात्रछात्राको उन्नति हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि परेको दिन छ, तथापि व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । अनुभवी र जानकार व्यक्तिको सल्लाह/सुझावलाई अनुसरण गरेको जाति हुन्छ । वैदेशिक क्षेत्रमा राम्रो छ, वा टाढा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछन् । छात्रछात्रा आज साँझदेखि पठनपाठनमा आकर्षित हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अब रामरमाइलो त्यागेर कार्यप्रति सजगताका साथमा खट्ने समय आएको छ । यद्यपि महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले बेलुका घरपरिवारमा असमझदारी बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ । बाध्यात्मक काममा आर्थिक हानिको संकेत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । छात्रछात्राका लागि व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । सातौं भावमा चन्द्रमाको प्रवेश हुनाले बेलुकीपख मन रोमान्टिक बन्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज बुद्धिक्षेत्रमा कमजोर चन्द्रमाको उपस्थिति देखिन्छ । दिनको सुरुवातमा केही समय ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि मानसिक चिन्ता र छटपटीले व्याकुल भइने छ । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर विद्यार्थीहरूको बौद्धिक र चिन्तनमूलक काममा नै दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । गृहिणीहरूले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको स्थिति ब्यहोर्ने दिन हो, परिस्थिति विपक्षमा भएकाले आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । पेटमा विकार आउने सम्भावना छ, खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । आफ्नै वा पति/पत्नीको स्वास्थ्यस्थिति बिग्रन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले एकाबिहानै निराशाको अनुभूति हुनसक्छ, मान्यजनसँग असमझदारी बढ्न सक्छ । गृहिणीहरूले सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । व्यवसायीहरूले सम्पत्तिको विवाद छ भने निराकरण गर्ने बाटो खोज्ने अनुकूलता मिल्न सक्छ वा छलफल हुनसक्छ । छात्रछात्राले पढाइलेखाइमा ध्यानकेन्द्रित गर्नु ठीक हुन्छ, प्रतिस्पर्धामा फाइदा हुँदैन । साँझपख पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन हो । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । इष्टमित्रले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । छात्रछात्रा मनोरञ्जनमा भुलिन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्षमा राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ, आलोचकहरू बढ्ने सम्भावना छ । उता विश्वासपात्र र सहयोगीले आआफ्ना बाध्यता तेर्स्याएर टाढिने परिस्थिति बन्नेछ । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने छ, खानपान र मोजमज्जाका लागि खर्च गर्न मन हौसिने छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।