0 COMMENTS

वि.सं. २०७६ आषाढ ०२ गते सोमबार तदनुसार ई. सं. २०१९ जुन १७ तारिख, ज्येष्ठ शुक्ल पूर्णिमा , ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शुभ योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : मष्टो पूर्णिमा, नेवारी पर्व ज्यापुन्हि, सद्गुरु कवीर जयन्ती, मन्वादि, गैंडु पूजा, पनौती स्नान, पनौतीमा भैरवभद्रकाली इन्द्रेश्वर रथयात्रा, लामो दिनसँग सम्बद्ध पूर्णिमा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०६:५४ देखि ०८:३८ सम्म, यमघण्ट : बिहान १०:२१ देखि १२:०५ सम्म, गुलिक काल : दिउँसो ०१:४८ देखि ०३:३२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म र साँझ ०५:१६ देखि ०८:१६ सम्म, लाभ वारवेला : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म, शुभ वारवेला : बिहान ०८:३८ देखि १०:२१ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके÷ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार पनि आउन सक्छन् । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।