0 COMMENTS

काठमाण्डाै०१असार/ नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गतेदेखि ऐ. ०७ गतेसम्म सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित आज मिति २०७६ असार ०१ गते मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधानसेनापति  थापालाई बलाधिकृत रथी श्री शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा हुन लागेको चीन भ्रमणको दौरान प्रधानसेनापति महारथी श्री थापाले चीनका विभिन्‍न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

 उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी  शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।