0 COMMENTS

काठमाण्डाै३१जेष्ठ/  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चार जगत्सँग सधैं हातेमालो गर्दै अगाडि बढ्न सरकार तयार रहेको बताएका छन् । उनले प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई पूर्ण प्रेस स्वतन्त्रतामा आँच नआउने गरी परिमार्जन गर्न सकिने धारणासमेत राखेका छन् ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै सरकार प्रेसलाई अंकुश लगाउने योजनामा कहिल्यै पनि नरहेको बताए ।

मिडिया काउन्सिल विधेयकले प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै अहिले सञ्चारकर्मी आन्दोलित छन् । कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकार र प्रेस जगत्ले एकअर्कालाई बुझ्ने क्रममा केही समस्या आएको भन्दै दुवै पक्षको बुझाइमा समानता खोज्न जरुरी रहेको बताए ।

‘हामी एउटै गन्तव्यतर्फ लक्षित छौं तर एकले अर्कालाई बुझ्ने क्रममा समस्या आएकाले दुवै पक्ष बसेर समाधान खोज्न जरुरी छ,’ उनले भने । उनले आफू समस्याको चुरो पत्ता लगाएर समाधान गर्न दत्तचित्त भएर लाग्ने बताए ।

सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित भइरहँदा उपप्रधानमन्त्री पोखरेलले सरकारका तर्फबाट पहिलोपटक सम्पादकहरुसँग प्रत्यक्ष संवाद गर्दै निकासका लागि पहल गरेका हुन् ।

सरकारका तर्फबाट निकासका लागि पहल गरिएकोमा त्यसलाई सकारात्मक रूपमा लिँदै सम्पादकहरुले सो विधेयक फिर्ता लिन माग गरे । विधेयकले संविधानको प्रस्तावनामै व्यवस्था गरिएको प्रेस स्वतन्त्रतामाथि धावा बोल्न खोजेकोले त्यस्तो विधेयक पास भएमा संविधानको मर्मविपरीत हुने भन्दै सम्पादकहरुले सरकारलाई सचेत गराए । सम्पादकहरुले प्रधानमन्त्री र सञ्चारमन्त्री निकास खोज्न गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरे ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।