0 COMMENTS

नमराज भट्ट फागुन ४ पोखरा / पोखरा १३ आर्वामा शनिबार थाइराइड तथा रcगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा ४ सय ५२ जनाको सित्तैमा रगत जाँच भएको छ । रतन पाण्डे माविले ज्योति महिला विकास बचत तथा ऋण सहकारी र रतन पाण्डे बचत तथा ऋण सहकारीको सहयोगमा शिविर आयोजना गरेको हो ।
पोखरा न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरल)को प्राविधिक सहयोगमा भएको शिविर अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले समाजलाई अगुवाइ गर्ने राजनीतिज्ञमा स्वास्थ्यबारे ज्ञान अनिवार्य चाहिने बताए । उनले ग्रामीण क्षेत्रका बासिन्दामध्ये ८० प्रतिशत जति अझै डाक्टरसँगसँगै धामीझाक्रीकहाँ पनि जाने उल्लेख गरे । वडाध्यक्ष लामाले जनताको सुविधाका लागि वडा कार्यालयमा पनि सुलभ दरमा प्रयोगशाला सेवा उपलब्ध रहेकाले यसको लाभ लिन आग्रह गरे ।

थाइराइड, मधुमेह तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले नसर्ने रोग लाग्नेबित्तिकै लक्षणहरु नदेखिने भएकाले बेला बेलामा जाँच गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिन आग्रह गरे । उनले भने, ‘नसर्ने रोगले धमिराले झैं भित्रभित्रै खान्छ । उपचार नगरे जीवन नै जान्छ । ’ उनले थाइराइड, मधुमेह र कोलेस्ट्रोलबारे बेलैमा संवेदनशील भएर उपचार नगरे हृदयघात, अपांगता, अन्धोपनलगायतका अनेक समस्या भोग्नुपर्ने हुनाले बेलैमा सजग हुन आग्रह गरे ।
डा. कोइरालाले अनुहार हेरेर औषधि दिनु सर्वथा गलत भएको भन्दै परीक्षण गरी रिपोर्टको आधारमा उपचार गर्न आग्रह गरे । शरीरलाई तन्दुरुस्त राख्न खानपान, व्यायमसँगै बेला बेलमा जाँच गरी ढुक्क हुन उनले अनुरोध गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले हालसम्म ३६ हजारभन्दा बढीलाई सित्तैमा सेवा दिएको बताए । सामान्य अवस्थामा थाहा पाए उपचारबाट दीर्घ जीवन बाच्ने सकिने रोगहरुबारे सचेतना र समयमै उपचार प्रदान गर्न शिविरहरुमा सहकार्य गरिरहेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालय र समुदायको सम्बन्धलाई सुदृढ गर्दै समुन्न समाज र गुणस्तरीय शिक्षाका लागि यस खालका कार्यक्रम गर्ने गरेको बताए । कार्यक्रममा रतन पाण्डे माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्त बराल, सहप्राचार्य सोमनाथ अधिकारी, शिक्षासेवी किशोरदत्त, ज्योति महिला विकास बचत तथा ऋण सहकारीका अध्यक्ष नारायणी बराल र रतन पाण्डे सहकारीका अध्यक्ष वसन्त शर्मा अधिकारीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।