0 COMMENTS

काठमाडौँ, १३ जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण सेन ‘इच्छुक’को स्मरणमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकता मुलुक निर्माणका लागि जनअपेक्षित परिघटना भए पनि चुनौती उस्तै रहेको बताउनुभयो ।

देश र जनताका सामु गरेको प्रतिबद्धतालाई पूरा गर्नका लागि आफूहरुले एउटै कम्युनिष्ट पार्टी बनाएको भन्दै उहाँले एकताबाट देशभित्र र बाहिर पनि नयाँ आशा र विश्वासको सञ्चार पैदा भएको बताउनुभयो ।

मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने र जनताको अपेक्षालाई सम्बोधन गर्दै अगाडि बढ्नु यतिखेरको प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “जनताको अपेक्षा पूरा गराउने ठूलो चुनौती रहेको छ । त्यो चुनौती पूरा गर्न हामीले ठूलो मेहनत गर्नु गर्नु जरुरी छ । सामान्य तरिकाले अगाडि बढेर हुनेवाला छैन ।”

आर्थिक विकासलाई केन्द्रमा राखेर एकीकृत कम्युनिष्ट पार्टी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सबै वर्ग तथा क्षेत्रलाई समेत साथै लिएर जाने अभियानमा आफूहरु रहेको उहाँको भनाइ छ ।

एकताका क्रममा केहीले केन्द्रीय समितिमा स्थान नपाएकामा चिन्ता गरेको प्रसंग जोड्दै उहाँले भन्नुभयो, “एकताका क्रममा केहीलाई केन्द्रीय समितिमा परिन कि भन्ने चिन्ता पनि होला”, अध्यक्ष दाहालले भन्नुभयो, “देश बनाउने महान् अभियान शुरु भएको छ । आज नपरेर के भो त ? भोलि अवश्य परिहाल्नुहुन्छ । कुनै न कुनै जिम्मेवारी पार्टीले दिन्छ । दिएको जिम्मेवारीको इमान्दारीताका साथ पालना गर्नुस् ।”

उहाँले सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिएर एकीकृतरुपमा राष्ट्र निर्माणमा केन्द्रित हुने आफूहरुको सदिच्छा रहेको बताउनुभयो ।

फरक एक प्रसंगमा अध्यक्ष दाहालले लोकतन्त्र र जनताको पक्षमा निरन्तर लडेको पार्टीको हैसियतले आफूहरु नै सच्चा लोकतन्त्रवादी र स्वतन्त्र प्रेसको पक्षधर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता र पत्रकारको हक हितका लागि आफूहरुले सबैभन्दा अग्रस्थानमा रहेर काम गर्ने र जनताको सूचनाप्राप्त गर्ने अधिकारलाई सम्मान गरिने अध्यक्ष दाहालको भनाइ थियो ।

परिवर्तनको रक्षा गर्ने र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षप्रति संकेत गर्दै भन्नुभयो, “रिस र आवेगले केही हुनेवाला छैन । नेपाली काँग्रेस हाम्रो सहयात्री नै हो, तर दुईवटा पार्टी मिल्यो भनेर रिस गर्ने र आवेगले काम गर्नु जरुरी छैन । त्यसले कोही कसैको हित गर्दैन ।”

उहाँले मधेश केन्द्रित र अन्य वामपन्थी शक्तिलाई मिलाएर जाने प्रयासमा आफूहरु रहेको र केही दिनभित्रै सकारात्मक परिणाम निस्कने जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले कृष्ण सेन इच्छुक, त्याग र समर्पणको प्रतिमूर्ति रहनु भएको भन्दै उहाँले देखाएको मार्गमा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।