0 COMMENTS

मधुमेहले यौनजीवनमा के–कस्तो प्रभाव पार्छ ?
सजिलो भाषामा भन्नुपर्दा मधुमेह भएका व्यक्तिको रगतमा चिनी (ग्लुकोज) को मात्रा बढी हुन्छ । लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा अनि स्नायुलाई पनि हानि पुर्‍याउँछ । पछि गएर यसको प्रभाव यौन उत्तेजना, योनि रसाउने वा लिङ्ग उत्तेजनाजस्ता कुरामा पर्छ । लिङ्गमा रगत भरिन ठीक समयमा नाइट्रिक एसिड नामको रसायन निस्कन्छ, जसले रक्तनसाका मांसपेशीलाई खुकुलो हुन रसायनिक सन्देश वाहकका रूपमा काम गर्छ । मधुमेहका कारण रक्तनसा वा स्नायुमा खराबी आउँदा यसले राम्रोसँग कार्य गर्न सक्दैन ।

त्यसबाहेक मधुमेह भएका व्यक्तिमा अन्य कतिपय कारणले पनि (यौनजीवनमा) नकारात्मक असर परेको हुनसक्छ । मधुमेह भएका कतिपय व्यक्तिमा उच्च रक्तचापको समस्या हुनसक्छ । यसले पनि रक्तनसामा हानि पुर्‍याउँछ । त्यसैगरी उनीहरूमा खराब किसिमको कोलेस्ट्रोलको मात्रा बढी भएको हुनसक्छ, जसले रक्तनसालाई साँगुरो बनाएको हुनसक्छ । जीवनशैलीको कुरा गर्ने हो भने पनि मधुमेह भएका कतिपय व्यक्तिले धूमपान गर्ने, खानामा परहेज नगर्ने हुन सक्छ । धूमपानले स–साना रक्तनसामा हुने रगतको प्रवाहलाई कम गर्छ । अनियन्त्रित रूपमा चिनीको मात्रा कम वा बढी हुँदा थकाइ लागेजस्तो हुने वा जाँगर वा स्फुर्ती नहुने स्थिति हुन्छ, जसले यौन क्रियाकलामामा संलग्न हुने कुरामा नकारात्मक असर पार्छ ।

त्यसबाहेक मधुमेह भएको व्यक्तिमा आफ्नो स्वास्थ्यका सम्बन्धमा नकारात्मक भावना उत्पन्न हुनसक्छ । कतिपयले चाहेर पनि आफ्नो जीवनशैली परिवर्तन गर्न सकेका हुँदैनन् वा तौलको उचित व्यवस्था गर्न सकेका हुँदैनन् । यस्तो हुँदा उसको आत्मसम्मानमै धक्का पुगेको हुनसक्छ, जसले मधुमेह भएका व्यक्तिको यौनेच्छा वा यौन लगावमा नकारात्मक असर पारिरहेका हुनसक्छ ।

समाधानका लागि के–कस्तो कुरामा सजग हुनुपर्छ ?
आफूलाई मधुमेह भएको थाहा भएपछि यौनसम्बन्धी तथा अन्य कुरामा नकारात्मक असर परेर अङ्ग–प्रत्यङ्गमा गम्भीर खराबी आउन नदिन रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्नुपर्छ । सर्वप्रथम त तपाईंको श्रीमान्ले मधुमेहलाई नियन्त्रित राख्न गर्नुभएको प्रयास सराहनीय छ । यद्यपि म यहाँकेही मुख्य कुरा उल्लेख गर्न चाहन्छु । चिनी, ग्लुकोजजस्ता वस्तुको प्रयोग एकदमै कम गर्ने वा गर्दै नगर्ने, चिल्लो पदार्थ कम सेवन गर्ने, तौल सन्तुलित राख्ने, नियमित व्यायाम तथा प्रशस्त हरियो–परियो (सागपात) सेवन गर्ने । त्यसका साथसाथै धूमपान एवं मद्यपानको सेवनबाट परहेज कुरा पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।
औषधी नियमित रूपमा सेवन गर्नुपर्छ र नियमित रूपमा चिकित्सकबाट परीक्षण पनि गराउनुपर्छ । ह्दयरोग होस् वा कोलेस्ट्रोल बढी हुने समस्या, त्यस्ता रोगको पनि नियमित परीक्षण गराउन तथा औषधी सेवन गर्न बिर्सनु हुँदैन । यस्ता कुरामा ध्यान दिन सकियो भने मधुमेहको जटिलताबाट जोगिन सकिन्छ । चिकित्सकसँग यौनसम्बन्धी आफ्नो चासोका विषयमा सोध्न हिचकिचाउनु हुँदैन ।

हुन त तपाईंको यौनजीवनमा कुनै समस्या छैन, तैपनि अर्को महत्वपूर्ण पक्ष के भने पाको उमेरका कारण पनि बिस्तारै यौन सक्षमतामा नकारात्मक असर पर्न सक्छ । यसको दोष अनावश्यक रूपमा मधुमेहलाई दिनुको सट्टा समस्याको समाधान खोज्नुपर्छ । अव्यवहारिक अपेक्षा राख्नु पनि मनासिव हुँदैन । हरेक पटक चरमसुख प्राप्त गर्नैपर्ने मानसिकता वा दबाबबाट मुक्त रहनुपर्छ, अन्यथा त्यसको नकारात्मक असर पार्छ । तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ । सहज वातावरण एवं तनावरहित भएर यौन क्रियाकलापमा संलग्न हुँदा फाइदा मिल्छ । आवश्यकताभन्दा बढी पीर गर्दा समस्या अझ बल्झिन सक्छ ।

स्रोत: साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।