0 COMMENTS

काठमाडौं ०८बैशाख०७५/ धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयको मातहतमा रहेको मत्स्यपालन क्षेत्रको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने प्रस्ताव फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई बुझाइसकेका छन् ।

३२ पृष्ठ लामो प्रस्तावमा जग्गा प्राप्ति भएको दुई वर्षमा सो क्षेत्रमा रंगशाला तयार गर्ने उल्लेख छ । फाउन्डेसनले देशका विभिन्न भागमा रंगशाला निर्माणका लागि जग्गा हेरेको थियो । तीमध्ये गोदावरीको जग्गा फाउन्डेसनको प्राविधिक टोलीले उपयुक्त ठहर गरेको हो ।

पर्यटकीय क्षेत्र गोदावरीमा मत्स्यपालन गरिएको पोखरी रहेको स्थानमा क्रिकेट रंगशाला बनाउने निर्णयमा फाउन्डेसन पुगेको हो । २०७२ सालको भूकम्पपछि पोखरीको पानी सुकेका कारण सो स्थान खाली छ । १२८ रोपनी रहेको सो क्षेत्रमा रंगशालासहित बहुउद्देश्यीय कर्भड हलसमेत निर्माण गर्ने फाउन्डेसनले बुझाएको प्रस्तावमा उल्लेख छ । सो क्षेत्रमा ४० हजार दर्शक क्षमतासहित अत्याधुनिक रंगशाला निर्माण सम्भव रहेको प्रस्तावमा उल्लेख छ ।

खेलकुद मन्त्रालयले जग्गा फाउन्डेसनलाई उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्राचार गर्दा सकारात्मक प्रतिक्रिया आएमा सो क्षेत्रमा रंगशाला बनाउन सुरु हुनेछ । फाउन्डेसनलाई रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बताइसकेका छन् । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)सँग प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले २ घण्टा सो विषयमा छलफल गरी सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।