0 COMMENTS

मिलन चाम्लिङ,धरान२६चैत०७४/ दोस्रो पटक म्याद थप गरिएको समय सकिनै लाग्दा पनि ठेकेदारले धरानको वडा २ र ३ मा पर्ने पुरानो बजारको बाटो निर्माण कार्य सकेको छैन । सिंहदेवी चोकदेखि चीनीया चोकस्थित मस्जिदसम्मको कुल ४ सय ३७ मिटर बाटो निर्माणको ठेक्का पाएको देव एण्ड सागर भुमी जेभीले चैत अन्तिमसम्म निर्माण कार्य सक्नुपर्ने म्याद छ । तर, चैत तेस्रो सातासम्म पनि कम्पनीले निर्माण कार्य सकेको छैन ।

यो बाटो विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभागबाट १ करोड ६५ लाखमा उक्त कम्पनीले ठेक्का पाएको थियो । गत आर्थिक बर्ष(असार मसान्त २०७४)भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तोकिएको समयमा काम पुरा गर्न नसकेपछि विभागबाट पुष मसान्तसम्मको थप ६ महिना समय पाएको थियो । उक्त समयभित्र पनि काम नसकेपछि विभागले पुनः दोस्रो पटक चैत मसान्तभित्र काम सक्ने गरि ३ महिना म्याद थपेको थियो । दोस्रो पटक थपिएको समय पनि सकिन लागेको छ । तर, सडक निर्माणको काम भने अलपत्र छ । अनेक वहाना देखाउदै ठेकेदार कम्पनीले निर्माण कार्य ढिलासुस्ती गर्दा स्थानीयबासीले सास्ती भोग्नुपरिरहेको छ ।

दुवैतर्फ ड्रेनसहित ५० फिट सडक बनाउने भन्दै स्थानीयको घर, पुरानो ड्रेन भत्काइएको थियो । ठेकेदारले समयमा काम सम्पन्न नगर्दा स्थानीयहरु रुष्ट छन् भने चौबिसै घण्टा धुलो खानुपर्दा स्वास्थ्यमा असर परेको गुनासो गर्छन् । ‘यो बाटोमा धेरै व्यापार व्यावसायी छौं, दिउँसो त धुलो उडेर बसिनसक्नु हुन्छ,’वडा २ का कपडा व्यापारी राजेश अग्रवाल भन्छन्,‘एक बर्षअघि नै बनिसक्नुपर्ने बाटो अहिलेसम्म बनेन, एक दिन काम गर्यो भने १५ दिन अड्किन्छ ।

ठाउँ ठाउँमा ड्रेनमा स्लाब नहाल्दा पनि यात्रुलाई समस्या भएको उनी बताउछन् ।बाटो ठेक्का लगाउने विभागले ठेकेदारलाई कडाई गर्न नसक्दा निर्माणमा लापरवाही र ढिलासुस्ती भएको स्थानीयहरु बताउछन् । ‘हामीले विभागको डिई, ठेकेदार पक्षलाई पटक पटक छिटो काम सक्न दबाब दियौं । थोरै काम गरेजस्तो गर्छन्, फेरी रोकिन्छ,’धरान २ का रमेश राईले भने,‘दश दिनअघि गिट्टी थुपारेर फेरि गायब भए । हाम्रो भनाई बाटो पुरा होस भन्ने हो, तर सबै पन्छिने कुरा मात्र गर्छन् ।’ धरान उपमहानगरपालिकाले पनि विभागले ठेक्का लगाएको भन्दै पन्छिने गरेको छ । यद्यपी, कार्यपालिका सदस्य कैलाश अग्रवालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।यो समितिले पनि काम गर्न नसक्दा लापरबाही बढेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।