0 COMMENTS

कल्पना बाेहरा अछाम,१२ माघ/नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रकोहीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिनुभएको छ ।

सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय, देश कंगाल बनाउने कदम भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको भन्दै वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन ।’ उहाँले भन्नुभयो—‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।’ वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला त्यसविरुद्ध एमाले उपाध्यक्ष रावल कडा रुपमा प्रस्तुत भएका हुन् ।

उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी तोक्ने विषयमा, नागरिकमा गलत भ्रम सृजना गरेको बताउनुभयो । राजधानी तोक्ने विषयमा सरकारले गठन गरेको विज्ञ टोलीले तयार पारेको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्ने निर्णयको विरोध गर्नुभयो । ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिइएको हो ।’ उहाँले भन्नुभयो– ‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम वामगठबन्धन मान्न तयार नभएको बताउनुभयो ।

प्रदेश नं.७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा काँग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उहाँले बताउनुभयो । अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पाएक पर्ने स्थानमा राजधानी तोक्ने पनि बताउनुभयो ।

पत्रकार सम्मेलमा राष्ट्रिय सभामा नवनिर्वाचित सांसद शेरबहादुर कुँवर, प्रदेश सदस्य गोविन्द कुँवर र प्रदेश सदस्य मिना साउदको सहभागिता रहेको थियो । प्रेस चौतारी अछाम शाखाका उपाध्यक्ष कालु वोहराको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।