0 COMMENTS

विराटनगर, ४ माघ०७४/ प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेको हो । ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर विभिन्न क्षेत्रका व्यक्तिले सोही अनुरुप आ–आफ्ना विचार व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले)का मोरङ अध्यक्ष विनोद ढकालले विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकेको कार्यलाई हार्दिक स्वागत गर्नुभएको छ । उहाँले विराटनगरमा सबै पूर्वाधार रहेकाले विराटनगरबाहेक अन्यत्र विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र) मोरङका नेता गोपी अछामीले विराटनगरलाई अस्थायी राजधानी बनाउने कार्य अत्यन्त राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै मिश्रित बसोबास भएको, सीमावर्ती क्षेत्रका पिछडिएका वर्ग, उत्पीडित जाति, आदिवासी जनजातिलगायत सबैको उत्थानमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले सरकारको निर्णय स्वागतयोग्य रहेको र ऐतिहासिक नगरी विराटनगर लगायतका क्षेत्रको विकासमा थप बल पुग्ने धारणा प्रकट गर्नुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाले प्रत्येक दृष्टिकोणबाट विराटनगर अस्थायी राजधानी हुनुपर्ने थियो, राजा विराटको राजधानी, औद्योगिक नगरीका साथै स्वास्थ्य, शिक्षा, समानुपातिक तथा समावेशी आधारमा पनि विराटनगरबाहेक अन्य विकल्प नरहेको बताउनुभयो ।

अर्का उद्योगपति नवीन रिजालले विराटनगरका साथै नजिकका बजारहरुमा चहलपहल बढ्ने, उद्योग स्थापना हुने, रोजगारमा बृद्धि हुनाका साथै नयाँ कार्यालयहरु स्थापना भएपछि निम्नवर्गसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगरका स्थानीयवासी सन्तोष यादवले विराटनगर अस्थायी राजधानी भएकोमा गौरवान्वित महसुश गरिरहेको बताउनुभयो । यसको माध्यमबाट समाजका सबै वर्गलाई लाभ पुग्ने कुरा उहाँले बताउनुभयो ।

दीप प्रज्वलन

यसैबीच, सरकारले प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ विराटनगरवासीले खुशियालीमा दीप प्रज्वलन गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले विराटनगर महानगरपालिकामा दीप प्रज्वलन गरी सरकारको यस कदमलाई स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।