0 COMMENTS

काठमाडौँ, १० मंसिर ०७४/ सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताउनुभएको छ ।

मन्त्री बस्नेतले सिन्धुपाल्चोकका आधा दर्जन मतदानस्थलमा वाम गठबन्धन आबद्ध दलले निर्वाचनबाट हतोत्साही भएपछि गुण्डा प्रयोग गरी बुथ कब्जा गर्न गरेको प्रयास सुरक्षाकर्मीको सक्रियताले सफल हुन नपाएको जानकारी दिनुभयो ।
उहाँले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ जाथी मतदानस्थलमा बुथ कब्जा गर्ने उद्देश्यले भाडामा ल्याइएका गुण्डा चढेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरु तितरबितर भएको बताउनुभयो । उच्छृङ्खल समूहले निर्वाचनको सुरक्षा व्यवस्था बिथोल्न खोज्दा आज जिल्लाका दुई स्थानमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

त्यस्तै जिल्लाको तातोपानीस्थित कोदारी, खुल्पिङ डाडागाउँ, कुभिण्डे, पाङ्टाङ, धुस्कोटलगायत मतदानस्थलमा कम्युनिस्ट दलले गुण्डा प्रयोग गरी बुथ कब्जा गरेको र सुरक्षाकर्मीले पूर्ण सफल हुन नदिएको मन्त्री बस्नेतले बताउनुभयो ।

समग्रमा जिल्लामा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, “जनताले शान्ति चाहेका छन्, लोकतन्त्र संस्थागत र सुदृढ गर्न जनता प्रतिबद्ध छन् ।”

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री बस्नेतले उत्साहपूर्वक आम मतदाताले मतदान गर्नुभएकामा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।सिन्धुपाल्चोकलगायत उच्च पहाडी र हिमाली ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज सम्पन्न भएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।