योगेश्वर श्रीकृष्णको साक्षात वाङ्मय स्वरूप श्रीमद्भागवत महापुराणको दशम स्कन्दलाई भागवतको हृदय मानिन्छ भने दशौँ स्कन्धको ३१ औँ अध्यायमा वर्णन गरिएको गोपी गीतलाई भागवतको प्राण मानिन्छ।
रासलीलाका समयमा ब्रज का गोपीनीहरूको प्रेमको परीक्षा लिन र गोपिनीहरूमा भएको कृष्ण आफ्ना परम मित्र हुन् भन्ने घमण्ड मेटाउन भगवान श्रीकृष्ण अचानक अन्तर्ध्यान हुनु भएपछि व्याकुल भएका गोपिनीहरूले कृष्णको सम्झनामा १९ श्लोकमा गाएका भावपूर्ण गीत हो गाेपी गीत।
महर्षि वेदव्यासद्वारा “कनक मञ्जरी “छन्दमा लेखिएको गोपी गीतको नित्य पाठ गर्नाले कुनै न कुनै रूपमा भगवान श्रीकृष्णको दर्शन पाइने विश्वास गरिन्छ भने असीम आध्यात्मिक शान्ति ,निष्काम भक्ति र कृष्ण कृपा पनि प्राप्त हुन्छ। गोपी गीत श्रीकृष्ण प्रति परम प्रेम र समर्पणको प्रतीक हो।
ईश्वर प्राप्तिको बाधक तत्व नै अहङ्कार भएकोले आफ्ना प्रिय भक्तहरूको अहंकार दुर गर्न समय समयमा अनेकौँ लिला रच्न जान्ने कृष्ण ले आफूलाई मित्रवत रूपमा पाउँदा ठूलो सौभाग्य ठान्दै गर्व गर्ने गोपिनीहरूको अहंकार मेटाउन गरेको लिलामा व्याकुल हुँदै गोपिनीहरूले कृष्णको जन्मसँगै लक्ष्मीको आगमन ले धन्य बनेको व्रजमा प्रकृतिको प्रकोप जीवजन्तुहरूको भय लगायत विभिन्न राक्षसहरुले दिएका दुःखमा आफूलाई साथ दिने कृष्णलाई एकछिन नदेख्दा विरह वेदना को भाव पोखिएको गीत हो यो। त्यसैले यो “गोपीका स्तुति “को नामले पनि परिचित छ।
संस्कृतमा भएका श्लोकहरूलाई शुद्ध उच्चारण र लयबद्ध पाठ गर्नु जो कसैकाे लागि सहज हुँदैन। त्यस्तै संस्कृत का श्लोक हरुको अर्थ सहित लयबद्ध रूपमा नेपालीमा अनुवाद गर्ने कार्य झन् कठीन हुन्छ।यो कार्य प्रकाण्ड विद्वानहरूबाट मात्रै सम्भव हुन जान्छ।
कृष्ण दर्शनको सहज मार्ग बताइएको यो गोपी गीतलाई आस्था, विश्वास र कृष्णप्रति लगाव हुने जो कसैले सहजै गान गर्न सकुन् भन्ने उद्देश्यले स्व. गोविन्द प्रसाद घिमिरे द्वारा भागवत को नेपाली अनुवाद गर्ने क्रममा अनुवाद गरिएको यो गोपी गीत निकै सरल र मिठा शब्दहरु को प्रयाेग गरी अनुवाद गरिएको छ। गाउँदै जाँदा निकै आनन्दको अनुभव गर्न सकिने सहज लयमा अनुवाद गरिएको यो गोपी गीत चाहना गर्ने जो कसैले सहजै गाउन सक्दछन्।
तल दिइएको सरल नेपाली अनुवाद गोपी गीत लाई सुन्न र हेर्न युट्युब च्यानल pratibha Ko pratibha मा जान सक्नुहुन्छ।
प्रभु सुजन्मले धन्य भो ब्रज
प्रकट भै दिइन् इन्दिरा अब
दश दिशा भए सुन्दरै तर
प्रिय कता गयौ ?दिक्क छौं सब
(१)
सुलभ दासी हौ पद्म तुल्यका
नयन बाँणले घाइते हुँदा
बध भएन के ?शस्त्रले बिना
हृदय नाथ ! यी प्रेम कामना
(२)
असुर क्रोधको नागबीषको।
प्रकृति कोपको अन्य तापको
अखिले त्रासका संकटादिमा
अति दया गर्यौ नाथ! हामीमा
( ३)
नभई गोपीका पुत्र मात्र है
सकल देहीका अन्तरात्मा भै
जगतकारको प्रार्थना सुनी
यदु कुलै विषे जन्मियौ तिमी
(४)
शरणमा परे नाथको कर
जन्म मृत्युले गर्छ है पर
प्रभु! मिलोस् त्यही हात माथमा
श्रदय लोलुपी श्री सुबाहुमा
(५)
ब्रज निवासीका दुःख नाशक
मदह भक्तको मन्द हासक
सुमुख पद्मवत् देऊ दर्शन
चरण पस्रने किंकरिकन
( ६)
सकल देहिका पापनाशने
पशु चराउने सर्प कुल्चने
कमल तुल्य ती लक्ष्मीवन्दन
चरण छातीमा नाथ! राखन
(७)
सुजन रम्भिने शब्द स्वादिला
पद-पदै मिठा वर्ण पोषिला
रसमयी पुरा वाक्य मोदक
अधर पान दी पार मोहका
( ८)
सकल पाप औ तापनाशक
कवि सुवर्गको गान श्रीपद
प्रभु कथा सुधा पान गर्छ जो
पृथ्वीमा बडो दानमान हो।
(९)
प्रहसिला कला प्रेम आलय
स्मरणमा हुँदा ध्यान मङ्गल
हृदयमा खुली मुग्ध गर्दथ्यौ
कपट आज ली चित्त नै चियौ
( १०)
पशु चराउने काम लिकन
जब तिमी प्रभु! हिड्दथ्यौ वन
कुश कणाँदिले पाद पद्म ती
हत हुनन् भनी लाग्थ्यो दिक् अति
(११)
जब त साँझमा आउँथ्यौ घर
रज परी सबै श्याम कुन्तल
तडीत चम्कदो मेघमा सरी
मुख कमल् खुली खिच्छ मन हरी!
( १२)
धारणी भूषण श्री सुपुजित
विपत नाशने भक्तकामद
चरणनाथको छातीमा दिनोस्
हृदयको व्यथा शान्त गर्नुहोस्।
( १३)
मद-न -उर्लने शोक नासने
स्वरीत बेणुले नित्य चाखने
इतर व्यक्तिको राग बिर्सन
अधरको सुधा वीर बाँडन
(१४)
वन बिहारमा नाथ गैदिँदा
दिन हुने युगै तुल्य नै सदा
कुटिल कुन्तले श्यामलो बदन
टुलुलु हेर्न हा !पक्ष्म रोक्दछन्
(१५)
बचन बन्धुको नाघि आउने
गति र गानको मर्म जानने
स्त्रीजन रातमा छोड्न उत्सुक
सठ तिमी बिना अन्य को छ त
(१६)
मिलन चाह ए-कान्त भाषण
प्रहसिलो मुख प्रेम दर्शन
विशद वक्ष श्री वाट नाथको
मन छ लालसी मुग्ध हे प्रभु!
(१७)
जनम नाथको दुःख नाशक
व्रज र विश्वको मङ्गलालय
मिलन लालसी हृदय व्यथिति
स्वजनमा प्रभो! देऊ औषधि
(१८)
ज्यादै नरम हजुरका चरणरविन्द
राख्थ्यौं यी छाती बीच दुख्छ भनेर सुस्त
हिँड्दा अहो वन त रात विषे छुपेर
होला कि कष्ट भनि हामी त छौं विचेत
(१९)

