काठमाडौं,१५साउन०८३/ प्रेस काउन्सिल नेपालले धार्मिक सद्भाव खल्बल्याउने सामग्रीमाथिको अनुगमनलाई तीव्र बनाएको छ।काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारी रामशरण बोहराद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको कप्तानगञ्ज घटनापछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित सामग्रीको अनुगमनका क्रममा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने प्रकृतिका २५ वटा सामग्रीमाथि अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको छ। यस्तै, पत्रकार आचारसंहिताविपरीतका ६१ वटा सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ। काउन्सिलले संवेदनशील विषयमा जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।
विज्ञप्तिअनुसार सुनसरीको घटनापछि हालसम्म २०७ वटा समाचार तथा सामाजिक सञ्जाल सामग्रीको स्वअनुगमन गरिएको छ। तीमध्ये आचारसंहिताविपरीत देखिएका ९० वटा सामग्रीमध्ये ३४ सञ्चारमाध्यमका ५९ वटा र दुई दर्ता नभएका सामाजिक सञ्जालका दुई वटा सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। निर्देशनपछि ३१ सञ्चारमाध्यम र दुवै दर्ता नभएका सामाजिक सञ्जालले सामग्री हटाएर काउन्सिललाई जानकारी गराएका छन् भने चार सञ्चारमाध्यमलाई पुनः निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, सञ्चारमाध्यमसँग आबद्ध नभएका २० सामाजिक सञ्जाल खातामध्ये १८ वटा सामाजिक सञ्जालमा प्रकाशित २५ वटा गम्भीर प्रकृतिका सामग्री अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको काउन्सिलले जनाएको छ।
अनुगमनका क्रममा केही सामाजिक सञ्जाल सञ्चालकले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने, हिंसा र घृणा फैलाउने सामग्री हटाउन आग्रह गर्दा पनि ती सामग्रीबाट आर्थिक लाभ (मोनिटाइजेसन) भइरहेको भन्दै हटाउन अस्वीकार गरेको काउन्सिलले जनाएको छ। मानवीय संवेदनाभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने यस्तो प्रवृत्ति सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल मर्मविपरीत भएको काउन्सिलको ठहर छ। यस्ता सामग्री र सम्बन्धित सामाजिक सञ्जाल खातामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
सुनसरी घटनापछि देशका केही क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, सन्तुलन, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ।
काउन्सिलले अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले कुनै पनि सामग्री प्रकाशन वा सामाजिक सञ्जालमा साझेदारी गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न र समाजमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्न पनि आग्रह गरेको छ।

