काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यममा देखिएका प्रवृतिप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय, मर्यादित बनाउन पत्रकार आचारसंहिता पालना महत्वपूर्ण भएको उल्लेख गरेका छन् । पत्रकार आचारसंहिता प्रतिकूल भएको भनी प्राप्त हुने उजुरी/जनगुनासो बढ्दै गएको सन्दर्भमा प्राप्त उजुरी/गुनासाउपर आचारसंहिताले निर्धारण गरेको प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपालले अनुगमन र कारबाही गर्दै आइरहेको बेहोरा जानकारी गराउदै यस्ता प्रवृत्ति/क्रियाकलापप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्वद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जाल -युट्युब च्यानल, फेसबुक पेज/रिल) बाट भ्युअर बढाउने उद्देश्य र मोनिटाइजेसन केन्द्रित भइ अपुष्ट सामग्री सम्प्रेषण गर्ने, विना अनुमति सार्वजनिक निकाय -अस्पताल, विद्यालय, सरकारी कार्यालय)मा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुव्र्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गइ अभिभावक/शिक्षक/संरक्षकको अनुमतिबेगर बालबालिकासँग अन्तर्वार्ता लिइ भिडियो अपलोड गर्ने ।
सञ्चार माध्यममा प्रकाशित सामग्रीका विषयलाई लिएर वा समाचार लेखेकै आधारमा पत्रकार/सञ्चारकर्मीलाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, धम्की दिने, धरपकडको प्रयास गर्ने लगायतका प्रवृती बढेको भन्दै सञ्चार माध्यम/पत्रकारले आचारसंहिताबमोजिम पेसागत आचरण, मर्यादा र व्यवहारमा रही सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सञ्चारकर्म गर्नाले मात्र पत्रकारिता क्षेत्र बलियो हुने र प्रेस स्वतन्त्रता अक्ष्ॉण्ण राख्न मद्दत पुग्ने हुँदा कुनै सामग्री सम्प्रेषण गर्नुअघि त्यस्ता सामग्रीको तथ्य र विश्वसनीयताको परीक्षण गर्न सुझाएका छन् । यस्तै सञ्चार माध्यमबाट तथ्यहीन, अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्नेगरी मिथ्या/भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने र त्यस्ता अपुष्ट सामग्रीको तथ्यगत परीक्षण नगरी भ्युअर बढाउने उद्देश्यले सामाजिक सञ्जालबाट सेयर गर्ने, छोटो भिडियो बनाइ रिल/पेजबाट सम्प्रेषण गर्ने तथा सरकारी कार्यालय एवं सार्वजनिक निकायमा क्यामरा लिएर गइ भिडियो खिच्न सुरु गर्ने, कार्यालय प्रमुख, लेखा प्रमुखसँग बुम तेस्याएर प्रश्न सोध्ने र अन्तिममा सन्देशमूलक सूचना लेखेको भनी बिल छाड्ने, कार्यालयसँग सम्झौता नगरी आफैँ सम्झौताको ड्राफ्ट तयार गरी आफूले दस्तखत गरी कार्यालयमा बुझाउने लगायतका पेसागत आचरणविपरीतका काम भएकाले काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको सिमा क्षेत्रका केही जिल्लामा विना अनुमति विदेशी मिडिया/पत्रकारले पत्रकारिता/सञ्चारकर्म गरिरहेको र त्यस्ता मिडियाबाट नेपाल सरकार र कानुनको व्यापक विरोध गरी भ्रामक सामग्री सम्प्रेषण हुने गरेको, सत्य, तथ्य एवं सन्तुलनको परीक्षणबेगर पत्रकारले नै पत्रकारका विरुद्ध सञ्चार माध्यम/सामाजिक सञ्जालबाट अभिव्यक्ति दिने कार्य भएकोप्रति चासो राख्दै पेसागत आचरणविपरीत यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेका छन् । सञ्चार माध्यमबाट प्रकाशित/प्रसारित सामग्री गलत, तथ्यहीन लागेमा वा चित्त नबुझेमा सोबाट असर पर्ने व्यक्ति/संस्थाले काउन्सिलमा उजुरी दिनसक्ने व्यवस्था छ । सम्प्रेषित समाचारलाई लिएर वा समाचार लेखेकै आधारमा सम्वद्ध सञ्चार माध्यम र पत्रकारलाई गालीगलौज गर्नु, मानमर्दन गर्नु, धम्की दिनु, धरपकडको प्रयास गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

