प्रतिभा भट्टराई /काठमाडौँ उपत्यकामा रहेका चार प्रमूख नारायण हरू मध्ये जेठो मानिएका चाँगु नारायण नेपालकाे सात विश्व सम्पदा सूचीमा पर्न सफल मन्दिरहरू मध्ये एक हो। यो मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको थियो।
नेपालमा भएका प्रसिद्ध प्राचीन तीर्थस्थलहरूमध्ये एक यो मन्दिर किराँतकालीन राजाहरूद्वारा बनाइएको अभिलेख पाइन्छ।प्राचीन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ।साँखु जाने रोडको दायाँ तिर काे बाटो हुँदै वा भक्तपुर सल्लाघारीको बाटो हुँदै यो मन्दिर पुग्न सकिन्छ भने उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ रुट मानिएको तेलकोट भञ्ज्याङ तेलकोट डाँडा हुँदै पनि चाँगुनारायणको मन्दिर पुग्न सकिन्छ।
भक्तपुर नगरबाट ६ किलोमिटर उत्तरमा रहेको चागुनारायण मन्दिर काठमाडौँबाट २० किलोमिटरको दुरीमा रहेको छ। यो मन्दिर ऐतिहासिक कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई दिन प्रतिदिन प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पनि महत्व राख्ने मन्दिर हो।यहाँ रहेका नारायणलाई चाँगुनारायण चम्पक नारायण ,चँगुनारायण ,गरुनारायण र डोला शिखर स्वामीको नामले पनि पुकारिन्थ्यो। चाँगुनारायणको मन्दिर अवस्थित डाँडाको नाम डोलागिरी भएकोले पनि यही शिखरको स्वामीको रूपमा यिनलाई डोला शिखर स्वामी भनिएको हो।यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने विषयमा स्पष्ट जानकारी नभएपनि लिच्छविकालीन राजा हरिदत्त वर्मा ले सन् ३८६ ताका उपत्यकामा चार नारायण को स्थापना गर्ने क्रममा चाँगुनारायणको पनि स्थापना गराएको बुझ्न सकिन्छ।अन्य तीन नारायणहरूमा शेषनारायण, विसंखु नारायण, र ईचंगुनारायण पर्दछन्।
त्यस्तै लिच्छवीकालीन अर्का राजा मानदेवले चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराई अभिलेख पनि राख्न लगाएका थिए। सोही समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीका लागि जमिन चढाएको र मन्दिरमा आफ्नो र आफ्नी श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए। हामीले प्रयोग गर्ने १० रुपैयाँको नोटमा देखिने गरुडको मूर्ति यही मन्दिरको हो।
समयसमयमा जिणोद्वार हुँदै आएको यो मन्दिर मध्यकालमा राजा शिवसिंहमल्लकी पट रानी गङ्गा महारानी र १८औ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लकाे शासनकालमा भएको थियो। हाल २०७२ सालको महाभूकम्पको क्षतिपछिको जीर्णोद्वारबाट मन्दिर निकै आकर्षक र रङ्गीन बनेको छ भने धेरै थरीका रङ हरुको प्रयोग हुँदा मौलिकता हराएको गुनासो पनि यदाकदा सुन्न पाइन्छ।
चाँगुनारायणको उत्पत्ति कथाका बारेमा मन्दिरका पुजारी काे भनाइ अनुसार परापूर्व कालमा चाँपै चाँपको रुख भएको वनको छेउमा सुदर्शन नामको ब्राह्मणका गाईहरू गोठालाहरूले पाल्ने गरेका थिए। ती गोठालाहरूले दैनिक रूपमा सुदर्शन ब्राह्मणलाई दूध पुर्याउने पनि गरेका थिए तर एक समय गोठालाहरूले धेरै दिनसम्म दूध पुर्याउन नसक्दा पञ्चामृत बनाउन नपाई धार्मिक कार्य समेत रोकिएकोले सुदर्शन ब्राह्मणले गोठालाहरूलाई दुध किन नल्याएको भनेर सोध्न पुगे। यसैक्रममा गोठाला हरुले गाईले दुध नै नदिएका कारण दुध ल्याउन नसकिएको बताएपछि, भर्खर ब्याएका दुधालु गाईहरूले पनि किन दूध दिएनन् त भनेर गाईको क्रियाकलाप बुझ्न गएका सुदर्शन ब्राह्मण ले हाल चाँगुनारायणको मूर्ति भएको ठाउँमा एउटा चाँपको रूखबाट कालो पुरुष निस्केर गाईको दुध चुसिरहेको देखेपछि रिसले चुर हुँदै केही नसोची आफ्नो हातमा भएको हतियारले त्यो पुरुषको शिर छेदन गर्न पुगे। तब शिर छेदन भएका कालो पुरुषबाटचार हातमा शङ्ख,चक्र ,गदा र पदम धारण गरेका नारायणले दर्शन दिनुभयो । यो घटना देखेर निकै आत्तिँदै अवाक भएका सुदर्शन ब्राह्मणले आफूबाट ठूलो गल्ती भयो भन्ने महसुस गर्दै पश्चाताप गरी आफू पनि मर्न तयार हुन लागेपछि भगवान विष्णुले आफ्नो परापूर्व कालको घटना सुनाएर यो सबै प्रपञ्च आफैंले रचेको हुनाले सुदर्शन ब्राह्मणलाई हत्याको कुनै दोष नलाग्ने बताउँदै आफ्नो सिर जोड्ने र आफ्नो पूजा गर्ने मन्त्र बताउँदै आफ्नो पूजा सुदर्शन ब्राह्मणकै सन्तानले गर्नुपर्ने नियम बनाइदिएका थिए। यसरी चाँपको रुखबाट निस्किएका कालो पुरुषको शिर काटिएर उत्पत्ति भएका नारायण भएकाले उनलाई चाँगुनारायण भनिएको हो भन्ने विश्वास पनि रहेको छ।
त्यसैले हालसम्म पनि यस मन्दिरको पूजारी सुदर्शन ब्राह्मणका सन्तान राजोपाध्यायहरू रहने गरेका छन् भने गोठालाहरूका सन्तान भडेलहरू यस मन्दिरको सहयोगीको रुपमा रहेका छन्।
यसरी भगवानले नै पुजारी चयन गर्नुभएको हुनाले पुजारी र सहयोगीहरू मन्दिरको सेवा गर्न बसेका समयमा जुठो र सुतक बार्नु नपर्ने नियम पनि यहाँ प्रचलित छ । नारायण भगवानले सुदर्शन ब्राह्मणलाई बताएको कथा अनुसार परापूर्व कालमा देव र असुरहरूको संग्राम भएका बेला सुदर्शन ब्राह्मणका पुर्खा सुमति नामका ब्राह्मण दानवको तर्फबाट लड्न आएका थिए। उनले दुवै पट्टिको अस्त्र विद्या सिकेका कारण उनलाई हराउने तागत कसैको पनि नभएपछि भगवान विष्णुले नै सुमति नामका ब्राह्मणको बध गर्नु परेको थियो।सो घटना पछि भगवान विष्णुलाई शुक्राचार्यले ब्रह्महत्याको श्राप दिएका थिए। यसै कारण सो श्राप मोक्ष गर्नका लागि भगवान विष्णुले नै उनै सुमतिका का सन्तान सुदर्शन ब्राह्मणबाट आफ्नो हत्या हुने प्रपञ्च रचेका रहेछन।
विशेष पर्व र तिथि हरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने यो मन्दिरमा आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन हरेक दिन जसो नै हुने गर्दछ।
कार्तिक कृष्णपक्षमा पर्ने हरिबोधनी एकादशी नयाँ वर्ष लगायत हरेक एकादशी, द्वादशी पूर्णिमा, कार्तिक महिना ,वैशाख महिनाका दिनहरूमा यस मन्दिरमा चहलपहल बढी नै हुने गर्दछ।हरेक महिनाको शुक्ल द्वादशी तिथि कुनै समय बुधबार पर्न गए सोत्यस्तैगरी दिन यस मन्दिरमा बद्रीनारायणको आगमन हुन्छ भन्ने विश्वासका साथ यस दिन गरिने पूजा भोग विशेष प्रकारको रहन्छ भने त्यस दिनको दर्शनलाई पनि निकै अपूर्व मानिन्छ।
मन्दिरको भित्री गर्भगृहमा गरुडासनमा विराजमान चतुर्वाहु शंख ,चक्र गधा र पद्मसमेतका आयुध हरु धारण गरेका भगवानलाई हिन्दुहरुले नारायण मानी पूजा गर्दछन् भने बौद्धहरुले हरिहर बाहन लोकेश्वरका रुपमा पूजा गर्दै आइरहेका छन्
काठमाडौँ उपत्यकामा स्थापना गरिएका चार नारायणहरूमध्ये जेठो मानिएका चाँगुनारायणको पूजा आराधना चोखो मनले विश्वासका साथ गर्नाले आफ्ना मनोकांक्षाहरू पूरा हुने विश्वास गरिन्छ।
चाँगुनारायणको अलावा अन्य देवी देवताहरूको मूर्ति पनि रहेको यस मन्दिर परिसरमा माता छिन्नमस्ताको मन्दिर पनि रहेको छ।यस् क्षेत्र मा माता छिन्नमस्ताको मन्दिर रहेको सन्दर्भमा कुरा गर्दा त्यहाँका पुजारीले बताए अनुसार जब कालो पुरुष को शिर काटिएर रगतको खोलो बग्न थाल्यो त्यस क्षेत्रमा रगत पिएर तृप्त हुने थुप्रै दुष्ट आत्माहरु रगत पिउन आए तब कालो पुरुषको शरीरबाट निस्केको रगतले मात्रै नपुगेपछि सोही क्षेत्रमा काटिएको शिरबाट उत्पत्ति भएका नारायणले माता छिन्नमस्ताको आह्वान गर्नुभयो ।आफ्ना सखी र सहयोगीहरूलाई आपत परेको बेला आफ्नै शिर काटेर रगत पिलाई तृप्त पारेकी माता छिन्नमस्ताले नारायणको आराधनालाई स्वीकारेर उत्पन्न भई त्यहाँ रहेका दुष्ट आत्माहरुलाई पनि रगत पिलाएर तृप्त गराएकी थिइन्। यसरी चाँगुनारायणको उत्पत्ति भएसँगै छिन्नमस्ता माता पनि उत्पन्न भएर सोही ठाउँमा विराजमान भएकी हुन्।
हरेक दिन खिरको भोग लगाएर पूजा गरिने चाँगुनारायणको पूजा जस्तोसुकै परिस्थितिमा पनि रोक्न पाइँदैन। अर्थात् पालैपालो पुजारी बस्ने यस मन्दिरमा पुजारी बसेको समयमा जुठो वा सुतक परे पनि बार्नु पर्दैन।हामीले हरेक दिन जसो नै प्रयोग गर्ने १०रुपैयाको नोटमा रहेको ठूलो गरुडको मूर्ति पनि यहीको हो। त्यस्तै गरुडको मूर्ति हनुमान ढोका दरबार परिसरकाे अट्को बहालमा रहेका अटक नारायण बा ब्रिन्जी नारायणको नामले चिनिने नारायणको मन्दिर अगाडि पनि देख्न सकिन्छ।