काठमाडौं, २३ भदौ । आज (मंगलबार) पनि देशका केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महा शाखाले जनाएको छ ।
साथै, विभागले वर्षा सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।