0 COMMENTS

  प्रतिभा भट्टराई/ असोज शुक्ल प्रतिपदा देखि शुरू भएर असोज शुक्ल नवमी सम्म रहने दिनहरूलाई शारदीय नवरात्री , नौरथा वा वडा दशैं काे नामले पनि चिनिन्छ। नौ दिन सम्म नवदुर्गा भवानीको आराधना र साधना बाट सिद्धी प्राप्ति गरी दशौं दिनमा रावण माथि भगवान श्री रामले विजय प्राप्त गरे पश्चात विजया दशमीको नामले मनाउन थालिएको यो हिन्दु हरुको महान पर्वमा शक्ति काे आराधना गरिन्छ।

ब्रह्मा, विष्णु, महेश्वर (त्रिदेव) द्वारा पनि आराधना गरिएकी र उनलाई पनि ऊर्जा प्रदान गर्ने माता भगवतीको शक्ति अवर्णित छ। पूर्ण ब्रह्म परमात्मा भगवान श्री कृष्णले समेत भक्ति गर्ने शक्तिको वर्णन गरेर र सुनेर पूर्ण हुँदैन। विभिन्न समयमा आइपरेका अप्ठेरा परिस्थिति हरुमा आफ्ना भक्त हरुको रक्षा गर्न भगवतीले लिनु भएको अनगिन्ती रुपहरुबाट हजारौं नामले पुकारिए पनि अन्ततः मा शक्ति (भुवनेश्वरी) एउटै हुनुहुन्छ।

नवदुर्गा, विष्णुमाया, भगवती, सनातनी, महालक्ष्मी, महाकाली, महासरस्वती,योग निन्द्रा, सिद्धिदात्री, कालरात्रि, मोहरात्रि काे रूपमा प्रकाश भएकी आधार शक्ति, प्रकृति माताको उपासना र आराधना बाट मानिसको जीवन सफल बनाउन सकिन्छ। मानिसको जीवनमा नभै नहुने बल, धन र बुद्धि महाकाली, महालक्ष्मी र महासरस्वती काे कृपा विना प्राप्त गर्न सकिँदैन। धन विना एक पल व्यतीत गर्न कठिन हुन्छ भने बल बिना आफूले चाहेका कार्यहरू सम्पादन गर्न सकिँदैन। त्यस्तै धन र तागत हुँदा हुँदै पनि सत्कर्म र सद्बुद्धि भएन भने आफूसँग भएको शक्ति र दौलतको पनि सही उपयोग गर्न नसकी जीवन बेकार हुन पुग्दछ। यसर्थ नवदुर्गाको आशिष प्राप्त गर्न का लागि नौ दिनसम्म भिन्न भिन्न नामले चिनिएकी माता लाई पूजा सामग्री, राम्रा राम्रा सुगन्धित पुष्प, सौभाग्य का सामान, चुनरी, श्री फल (नरिवल) पक्वान्न नैवेद्य (मालपुवा, पुवा, सेल, पूरी, बारा, खिर) अर्पण गरी जप,पाठ हवन सहित भक्ति गरिने यो नवरात्री वर्ष भरीमा पर्ने चार नवरात्री मध्ये विशेष मानिन्छ।

नौरथा का साथै शुक्ल पक्षको अष्टमी, नवमी, चतुर्दशी, पूर्णिमा जस्ता शुभ तिथीहरुमा शक्तिको महिमा गान गरिएको चण्डी पाठ नियम र आस्थाका साथ नवार्ण मन्त्रहरू मध्ये कुनै एक मन्त्रका साथमा गर्दा, मानिसका जीवनमा भएका, रोग, शोक, भय, दुःख दारिद्र सबै निवारण भएर जाने कुरामा शंका गर्नु पर्दैन तर पूजा, जप, पाठ, हवन मध्ये जुनसुकै माध्यमले अम्बिकाको आराधना गर्दा पनि पूर्ण विश्वास र श्रद्धा काे भने खाँचो रहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।