0 COMMENTS

वि.सं. २०७६ श्रावण ०१ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई १७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : श्रावण सङ्क्रान्ति, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने, थारु गुरिया पर्व, वैतडी गुजरमा बनारसी साउने मेला प्रारम्भ , श्रावण कृष्णपक्ष (दिल्लागा) प्रतिपदा तिथि, मध्यरात्रीपछि ०३:१९ बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराषाढा नक्षत्र, बेलुका १०:३५ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, मध्यरात्रीपछि ०४:१६ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा बालब करण दिउँसो ०२:४५ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०३:१९ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२० बजे, सूर्यास्त : साँझ ०६:५९ बजे, दिनमान : ३४ घडी ०९ पला (१३ घण्टा ४० मिनेट, रात्रीमान : २५ घडी ५१ पला (१० घण्टा २० मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । हाकिम, मातापिता वा कुनै ठूलाबडा व्यक्तिसँग सुसम्बन्ध कायम हुनेछ र कुनै लाभमूलक काममा सहयोग लिन सकिने छ । कामदार र कर्मचारीले प्रशंसा पाउने छन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् । रोजगारीको प्रयासमा रहेकाहरूका निमित्त कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिता र अभिभावक वर्गका चाहना पूरा गर्न आजको दिन अनुकूल रहेको छ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका काम पुनः थालनी गर्न अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । रोकिएको काम बन्न सक्छ । काम दोहोर्याउनु पर्ने भए पनि गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । छात्रछात्राले सिर्जनात्मक काममा मन लगाउनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आज । देखिएका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । तर गृहिणीहरूले झैझगडा र कलहबाट टाढा बसेको राम्रो हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक, सामाजिक, व्यावहारिक विभिन्न समस्या झेल्दै काम फत्ते गर्ने दिन हो, आजको दिन । हेर्दा सामान्य लागे पनि झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ । प्रतिस्पर्द्धा र प्रतियोगितामा सफलता मिल्ने दिन छ तर भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले पनि ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । गृहस्थीहरूका लागि भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चतुर्थ चन्द्र भए पनि दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । तर सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । साँझपख शरीरमा थकानको अनुभूति हुनसक्छ, तथापि पारिवारिक र व्यवसायिक गतिविधिमा समय बितेको पत्तो पाउनुहुन्न । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुने समय छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । नोकरी र व्यापारमा फाइदा नै हुनेछ । बरु पतिपत्नीका बीचमा ठास्सठुस्स बढ्ने दिन छ, सचेत हुनुहोला । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । हाँकेको/ताकेको काम फत्ते हुनेछ । धार्मिक र परोपकारी काममा समय र रकमकलम लगानी गर्ने समय छ । सामाजिक काममा पनि दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । विद्यार्थीले पराक्रम प्रदर्शन गर्ने समय रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दोस्रो भावमा बसेको चन्द्रमाले शुभफल प्रदान गरेको देखिंदैन । बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । खासगरी गृहिणीहरूले धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । बन्दव्यापार र दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिमा चन्द्रमा छ, हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । कृष्णपक्षको चन्द्रमा भएकाले बढी चञ्चलता र उमङ्ग देखाउनु पनि उपयुक्त हुँदैन । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन/अध्यापन र पेसा/व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो नभए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अहिलेको समय तपाईंको पक्षमा छैन । बाह्रौं भावमा चन्द्रमा रहेकाले ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । ठूलाबडा र हाकिमसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । किशोरकिशोरीहरूका लागि अभिभावकलाई घुर्क्याउने समय देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चन्द्रमा राज्यस्थानमा भए पनि शुभफलमा बाधा देखिन्छ । मनमा पलाएको महत्त्वाकाङ्क्षा र घमण्ड आफ्नै लागि हानिकारक बन्नसक्छ, सचेत हुनुपर्छ । इष्टमित्र र सहयोगीको सल्लाह र सुझावको बेवास्ता गर्दा दुःख पाउन सकिन्छ । यद्यपि आज समाज र साथीभाइबाट सहयोग मिल्ने दिन छ । जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नेछ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन् । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन । आम्दानी घट्ने छैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।