0 COMMENTS

वि.सं. २०७६ ज्येष्ठ ११ गते शनिबार तदनुसार ई. सं. २०१९ मई २५ तारिख, ज्येष्ठ कृष्ण षष्ठी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, ब्रह्म योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व र उत्सव : द्विपुष्कर योग बिहान १० बजेर १६ मिनेटपछि, धनिष्ठापञ्चक प्रारम्भ राती ११ बजेर ३१ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), भोलिको चाडपर्व र उत्सव : रवि सप्तमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, द्विपुष्कर योग बिहान ०८ बजेर ०१ मिनेटसम्म, भोलिको मूहुर्त : अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:३७ देखि १०:१९ सम्म, यमघण्ट : दिउँसो ०१:४३ देखि ०३:२६ सम्म, गुलिक काल : बिहान ०५:१३ देखि ०६:५५ सम्म, काल वारवेला : बिहान ०५:१३ देखि ०६:५५ सम्म र साँझ ०५:०८ देखि ०८:०८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०६:५५ देखि ०८:३७ सम्म, अमृत वारवेला : दिउँसो ०३:२६ देखि ०५:०८ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पाँचौं भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मन एकतमासको बन्न सक्छ । एकाबिहानै विगतका अनुभूतिमा रुमल्लिंदा निराशाभाव उत्पन्न हुनसक्छ । नघोरिई आत्मबलको प्रयोग गरी अघि बढेमा र रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता तपाईंको मुट्ठीमा हुनेछ । पठनपाठन र बौद्धिकताप्रति आकर्षण नै हुनेछ । मिहिनेत गरेमा विद्यार्थीले उच्च सफलता आर्जन गर्नेछन्, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास गरिने छन् । आवेग र क्रोधमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र सहयोगीहरू टाढिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो घरको चन्द्रमाका कारण शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिने छ । सेवासुश्रुषामा समय र धन खर्च हुनसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । शरीरमा स्फूर्ति र उमङ्ग देखिंदैन । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । आवेग र क्रोध आजका शत्रु हुन्, यथासम्भव संयम र अनुशासित भएर बस्नु पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । परोपकारी काममा व्यय हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मन त्यसैत्यसै उत्ताउलो र भावुक बन्न सक्छ । सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुनसक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । छिटो समाप्त हुने कामबाट राम्रै फाइदा लिन सकिन्छ, तर दीर्घकालिक कामको थालनी गर्दा पछि पछुतो हुनसक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लगाउनु राम्रो हो । कामधन्दाप्रति दिलचस्पी हुने छैन, तर अल्छी गरेमा कुनै आवश्यक काम रोकिन सक्छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघट हुनेछ, तर विवाद र झैझगडामा संयम हुनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । धेरै टाढा जानु हुँदैन, लामो दूरीको यात्रामा झमेला आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।