0 COMMENTS

काठमाडौँ, ३० पुस /नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएका थियो ।

नेकपा (एमाले)को उपमहासचिवमा निर्वाचित भई पार्टीका विभिन्न तहमा नीति निर्माणमा जिम्मेवारी समेत निर्वाह गर्नुभएका नेता भुसाल पूँजीवाद र समाजवादको विश्लेषक, तथा कम्युनिष्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रुपमा स्थापित हुनुहुन्छ । गत मंसिर ४ मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वाम एकताका क्रममा अहिलेसम्म भएका प्रगतिको समीक्षा गरिएको थियो ।
पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति, विभिन्न कम्युनिष्ट समूह तथा दललाई एकताबद्ध गर्न सम्बन्धित पक्षसँग वार्ता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।