मङ्सिर महिनाको सुरुवात सँगै बढेको चिसो त्यसमा पनि बिहानीको समय। छुट्टी काे दिन नभएकोले बिहान समयमा नै कार्यक्रम सुरु गरी निर्धारित समयमा सकाउनु पर्ने बाध्यता फेरि कार्यक्रम सञ्चालन गर्नुपर्ने जिम्मा आफ्नै। कताकता डर अनि शिर भारी भए जस्तै भयो। बिहानीको समयमा भुसुक्कै निदाइयो भने के गर्नु? समयमा कार्यक्रम स्थलमा पुग्न नसकिए के होला त्यस्तै कार्यक्रम चलाउँदै गर्दा केही तल माथि भइदियो भने ?यस्तै यस्तै साना साना डर मनमा लागिरहेको थियो।मैले कार्यक्रमको निमन्त्रणा आफ्ना सम्बन्धित साथीहरूलाई सुनाएँ। अफिस जाने साथीहरूको लागि समयको अभाव अनी अन्य साथि हरूको लागि चिसो मौसम साथै बिहानै पुग्नु पर्ने भएकोले कोही जान तयार हुनुभएन। मलाई भने कुनै बहाना पार्ने छुट थिएन म जसरी पनि जानै पर्थ्यो।
एकजना साथी(दिदी) भने कार्यक्रम बारे जानकारी लिँदै जाने रहर गर्नुभयो। मैले उहाँलाई आइपुग्नुपर्ने समय बताएँ। मैले बताएकै समयमा उहाँ भोलिपल्ट आइपुग्नुभयो।
कार्यक्रम स्थल लगभग आफ्नो घर बाट पैदल यात्रा गर्दा आधा घण्टाको समयमा पुगिन्थ्यो । मलाइ केही तयारी पनि गर्नू पर्ने भएकोले मैले गाडीमा जाने कुरा गरे तर उनले बिहानीको समयमा हिँड्नै राम्रो हुन्छ नी भनिन्। सायद उनलाई आफ्ना जीवनका सुखद् क्षण हिँड्दै कसै सँग बाँड्न मन् लागेको ले पनि होला । हामी दुवै जना गफ गर्दै अगाडि बढ्यौं।
विगत तीन महिना देखि हामी एउटै संस्थामा आबद्ध भएपनि बोलचाल भने भएको थिएन। या भनौँ बोल्ने विषय र प्रसङ्ग नै मिलेको थिएन । तर यो म सँगको पहिलो कुराकानी मा नै जीवनमा धेरै पीडा भोगेकी उनले थोरै दुःख र धेरै सुखका कुरा बताइन जून सुनेर मेरो मन पनि हर्षित भयो।३० वर्षकी हुँदा दुर्घटनामा परि श्रीमान गुमाएकी उनले चार र सात वर्षका सानासाना छोराहरु हुर्काउन , पढाउन र सक्षम बनाएर बिदेश पठाउन गरेको संघर्ष निकै पीडादायी थियो रे। श्रीमानको मृत्युपछि आफन्तले गरेका हेला उनी सम्झनै चाहन्नन् रे।
सुरुमा उनले यती दुःख का कुरा सुनाए पछि मलाई लाग्याे ओहो !अब आज यी दिदीले मलाइ आफ्ना पीडा सुनाउने भइन। विहानै कसैका वेदना सुनेपछि दिन दुःखी भएर पो बित्ने हो की?जो कसैका पीडाका कथा सुनेपछि आफू पनि त पीडित भइन्छ, मुटु गाँठो परेजस्तै हुन्छ र आँसु झर्न थाल्छ। शिर भारी भए जस्तै हुन थाल्छ र दिन नरमाइलो हुन्छ। हुन त ,आफ्ना पीडा एकातिर साना तिना छँदैछन् अर्काको पीडामा पनि आँसु झार्न थालियो भने खुसी हुने दिन सायद आउँदै आउँदैन र पनि कहिलेकाहीँ कसैका कष्टकर जीवन कथा सुन्न बाध्य हुनुपर्छ।तर आज त्यस्तो भएन, उनले मसँग २२ वर्ष भोगेका अभाव, एक्लोपन र सङ्घर्ष का पीडा धेरै बताइनन्। बताइन् त केवल मात्र खुसी का कुरा। उनी हर्षित हुँदै भन्न थालिन ,”बहिनी मलाई आज एकजना साथीले बोलाउनुभएको थियो। तर म यही कार्यक्रममा जानु छ भनेर गइन”। मैले भने, “साथीलाई भेटेर आएको भए पनि त यो कार्यक्रम भ्याइहाल्नु हुन्थ्यो नि”। उनले हाँस्दै भनिन् होइन नि मलाई त रातै बस्ने गरी जानु थियो।उहाँ सर सँग म फेसबुक बाट नजीक भएँ हामी अहिले मिल्ने साथी छौँ। कहिले उहाँ म कहाँ आउनुहुन्छ कहिले म उहाँ कहाँ जान्छु। म अकमक्क परें। फेसबुकबाट चिनेको सर साथी अनि रात बस्दै यता आउने र उता जाने? सोध्ने प्रश्न केही जानिन मात्र उनका कुरा सुनिरहें।
आफूलाई जीवनभर साथ दिन्छु भनेर भित्र्याएको पुरुष उनको ३० वर्ष मात्र काे उर्वर यौवनमै उनलाई छोडेर गएपछि आकाश खसेझैँ र पहाडले थिचे झैँ आइपरेका दुःख कष्टहरुलाई उनले साहसिक महिला बनेर पूरा गर्दै गएकी रहिछन् तामाका मुना जस्तै दुई छोराहरूको तोते बोली र स्याहारसुहारमा भुलेकी उनलाई छोराहरू स्कुल , कलेज र अफिसबाट आउने बित्तिकै आफूसँगै लुटुपुटु गर्दै दिनभरिका कुराहरु सोध्ने र खाने गरुन्जेल एक्लोपनको महसुस नै भएन रे। तर बिस्तारै छोराहरूका जुँगाको रेखी बस्न थालेपछि आँफै जीवनसाथी रोजेर आफ्नै संसारमा रमाउन थालेर उनीबाट टाढा हुन थाले सँगै उनमा एक्लोपन बढ्दै जान थालेकाे रहेछ। त्यसैले छोराहरूले उनलाई दिन बिताउन सजिलो होस् भनेर राम्रो मोबाइल किनेर ल्याइदिएका रहेछन्। त्यहीँबाट फेसबुक चलाउने क्रममा उनको आफूसँगै गाउँमा खेले हुर्केको आफ्ना श्रीमानका मिल्ने साथी सँग भेट भएको रहेछ । जुनबेला उनले आफ्ना श्रीमानको साथीसँग भेटिन् त्यसबेला उनका श्रीमानका साथी पनि तीन वर्षदेखि क्यान्सरले थलिएकी जीवन संगिनी ले छोडेर गएको पीडामा रहेछन् ।जसले उनलाई श्रीमान बितेका समयमा पटक पटक भेटेर धैर्य गर्न र बाँच्ने आधार तयार गर्न मद्दत गरेका थिए उनै श्रीमानका साथीलाई यस्तो अवस्थामा नभेटी बस्न उनले पनि सकिन् छन्।तिनै श्रीमतीको वियोगमा तड्पिएका श्रीमानका साथी सरसँग कुराकानी र भेटघाट बाक्लिएसँगै उनलाई जीवनसँग माया लाग्न थालेको रहेछ।
उनकाे यति कुरा सुन्दै गर्दा हाम्रो कार्यक्रम स्थल पनि आइसकेको थियो र म उनलाई नयाँ साथीहरू सँग गफ गर्दै रमाउने सल्लाह दिएर कार्यक्रम सञ्चालन तिर लागे। कार्यक्रम सञ्चालन गर्दै गर्दा अतिथिहरूलाई बोल्ने अवसर दिएर म उनलाई फोन गर्थें कार्यक्रममा उनले चिनेका मान्छे कोही नभएकाले कतै नरमाइलो मानेर पो बसेकी छन् कि भन्ने लाग्थ्यो मलाई। तर उनीलाई आजभोली त्यस्तो हुन्न रे जहाँ गए पनि जसो गरे पनि हरपल आफूलाई रमाइलो महसुस भइरहन्छ रे।निर्धारित समय सँगै हाम्रो कार्यक्रम पनि सकियो। म उनलाई भेट्न गएँ। उनले फोटो खिच्ने रहर गरिन मैले पनि उनका यी फोटाहरू पक्कै उनका मिल्ने सर साथि सँग साटिन्छन् भन्ने सोचेर कलर, लाइट र पोजीसन मिलाएर त्यहाँ भएका राम्रा ठाउँ हरूमा उनका राम्रा राम्रा तस्बिरहरू खिचिदिएँ , त्यसपछि हामी चिया नास्ता गरेर घर तीर लाग्यौ ।
एक्लै हिँड्दा लामो लाग्ने त्यो बाटो आज उनको खुसी सँगै काट्न पाउँदा मलाई छोटो अनुभव भइरहेको थियो। उनी अझै भन्दै गइन,” आजभोलि मलाई यस्ता कार्यक्रमहरु जहाँ पनि जान मन लाग्छ ।नाँच्न ,गाउन बोल्न, घुम्न, हिँड्न डुल्न सबै गर्न मन् लाग्छ धेरै वर्ष घरभित्रै गुम्सेर दुःखी हुँदै रोगहरु पालेर बसे आजभोलि त मलाई सबै रोग ठिक भएका छन्। नशा च्यापिएको, माइग्रेन ग्यास्ट्रिक ,युरिक एसिड सबै। अब त मलाई स्वस्थ भएर धेरै वर्ष बाँच्नु छ। ” उनले प्रसन्न मुद्रामा बताएका यी कुरा हरू सुनेर म पनि प्रसन्न भएँ।
यत्तिकैमा उनले ब्यागबाट मोबाइल निकालिन्। उनी मोबाइल मा मलाइ केही देखाउन चाहन्थिन्। यति नै बेला उनको मोबाइलमा घन्टी बज्यो ।उनले मलाई सोहि सर साथीको फोन आएको बताइन। मैले फोन रिसिभ गर्ने सल्लाह दिएँ तर उनले निर्धक्क भएर भनिन् “नाई ! घर गएर आनन्द ले गर्नुपर्छ भिडियो कल।म छक्क परें ओहो! सामाजिक सञ्जालले कति मान्छेहरुलाई यसैगरी खुसी हुने अवसर दिएको छ है ? संसारका विभिन्न कुनामा छरिएर रहेकाआफ्ना प्रिय व्यक्तिहरु आफ्नै अगाडि भएझैँ गरी कुरा गर्न पाउनु विछोडिने हरूका लागी कति खुसीको कुरा हो । विज्ञान आखिर गलत कहिले हुन्छ र? सामाजिक सञ्जालकै कारण कति व्यक्तिहरूको गोप्यता भङ्ग भएका र इज्जत लिलाम भएका भएपनि “साइन्स इज अ गुड सर्भेन्ट बट ब्याड मास्टर”भने झैं गल्ती त आखिर प्रयोगकर्ताको न हो ?
ती दिदी आफ्ना कुराहरू सुनाउँदै निकै हर्षित भइरहेकी थिइन्। उनी भन्दै गइन ,”अब म जीवन मा फर्केर दुःखका दिन सम्झनै चाहन्न । उहाँसँग काे मित्रता मा म एकदमै खुसी छु। “उनले उनको साथी सरको र परिवारकाे फोटो देखाउँदै भन्दै गइन ,”उनका परिवार र मेरा छोराहरूले पनि हामीलाई सँगै हुने सल्लाह दिएका छन्। अब हामी केही समयपछि सँगै हुन्छौं होला बहिनी। तपाईहरुसँग पनि म टाढा हुन्छु।”
ती दिदीको अनुहारमा देखिएको खुसी र हर्षित भएको मन बाट कुनै पनि व्यक्ति निकै हर्षित देखिन्छ भने बुझ्नु कि उ प्रेममा छ भन्ने भनाइ सही रहेछ भन्नेमा विश्वस्त भएँ म।
अनि सोच्न थालें , केमा रहेछ आखिर खुसी? चाहेको कुरा प्राप्तिमा या कसैको माया प्रेम सहितको साथमा? जरूरत भएका र चाहेका बेलामा पूरा भएका काम कुरा हरू ले त क्षणिक खुशी मात्र प्रदान गर्छन । स्थायी खुसीको लागि त जीवनभर साथ रहने साथी आफ्नो मनले चाहेको, खाएको , आफूलाई बुझ्ने र आफुले दिएको प्रेम र सम्मानको सम्मान गर्ने हुनुपर्छ। सायद उनले यस्तै ब्यक्ति भेटिन र यती खुशी छिन। आफ्नो जीवनको पूरै आकाश ढाकिदिने एक असल मन् पाए विश्वका अरबौं जनताको मान्छेलाई के काे चासो ? अनि देशका करोडौं जनताकाे किन खोजी ?
उनी अल्लारे उमेरकी थिइनन् । जीवन, समय र सङ्घर्ष बुझेकी परिपक्व महिला थिइन् उनलाई कसैको साथको चाहना हुँदो हो त साना साना छाेरा हरू छाेडेर उमेरमै कोही खोज्न सक्थिन। नारी एकल भए पनि सन्तानको सुख स्याहार सुसार र अध्यात्म मा रमाएर जीवन कटाउन सक्छे । त्यसैले हुनसक्छ एकल महिला का लागी हतपत सम्बन्ध जोडाउन नखोज्ने समाज पुरुष एकल हुने सम्भावना मात्र देख्दा पनि जोड़ी मिलाउने तरखरमा हुन्छ। उनले पनि २२ वर्ष सम्म एकल महिला भएर नै त दिनहरू बिताएकी थिइन्। ५० कटे पछि उनको जीवनमा खुशी शायद भाग्य ले नै जुराएको थियो।
उनी आफ्ना सुखद् क्षण मलाई सुनाउँदै गइन म सुन्दै गएँ। उनले खुसीका दिन हरुको बर्णन गर्दै रमाइरहँदा मलाइ आफ्नै परिवारको कोही सदस्य खुशी भइरहेको भान भयो। आखिर हरेक मान्छे आफू र आफ्ना प्रिय जीवन खुशी भएको नै त हेर्न र सुन्न चाहन्छ अनि प्रत्येक व्यक्ति कसै न कसैका आफन्त नै त हुन्छन्। मैले पनि जिन्दगीको यौवन अवस्था मा एक्लिएकी ती दिदी लाइ अब जीवनको उत्तरार्धमा भने सुख, खुशी र आनन्द मिलोस भन्ने सुभ कामना दिँदै उनीबाट टाढा भएँ।
हो,खुशी हरेक व्यक्तिले भएर बाँच्न पाउनु पर्छ। हिंसा , पीडा र तड्पाहटमा कोही बाँच्नु हुँदैन तर एउटै कुरा ले सबैलाइ खुशी दिन सक्दैन। कसैलाई खुशी दिने कुरा नै कसैका दुःखका कारण बन्न सक्छन्। कसैलाइ भेटाउँदा लागेको खुशी कसैले गुमाउँदा महसुस गर्छन । कोही अरुबाट खुशी खोज्छन् त कोही आफैं भित्रको खुसीमा रमाउछन्। आफू खुशी हुन चाहनेले अरुलाई पनि खुशी हुन बाट रोक्नु हुदैन, आफ्ना कर्तव्य र संस्कार भुल्नु हुँदैन भने आफू खुशी हुने बहानामा अरुका खुशी खोस्नु पनि हुँदैन। त्यस्तै आफुले रोजेको खुशीले पछि आफैंलाई धोका दिनु पनि हुँदैन।


 
             
			                             
			                            