0 COMMENTS

काठमाडौँ २१फाल्गुन  २०७७– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै आज विप्लव भूमिगत राजनीति त्यागेर सार्वजनिक हुँदैछन् ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना गर्न लागिएको हो ।

विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त सम्बोधन गर्नेछन् । दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिनेछ । हिजो बिहानको वार्तापछि सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो ।

तर, सहमतिका बुँदाहरु भने आज सोही मञ्चबाट मात्रै सार्वजनिक हुनेछ । आजको सम्बोधनमा विप्लवले आफ्नातर्फबाट धारणा राख्नेछन् । तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहाइ गर्न हिजै सर्कुलर जारी गरेको छ ।

सरकार र विप्लव समूहबीच विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तथा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

सहमतिपछि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । उक्त विषयमा सहजीकरण भइरहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।