नेकपा विवाद थप बल्झिएपछि ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं २२ मंसिर २०७७,। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मत्थर हुने संकेत नदेखिएपछि पार्टी अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मंगलबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको पुष्टि गरेका छन् । उनकाअनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको जानकारी दिएका छन् ।
उनले ट्विटरमार्फत् भनेका छन्, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।”
यसअघि आइतबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठकमा मुलुकमा देखिएका केही गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी दलहरुको सर्वदलीय बैठक आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।