मनमा गढेको त्यो सङ्गीत-प्रतिभा भट्टराई

भनिन्छ, सङ्गीत बिना जीवन नीरस हुन्छ त्यसैले त हरेक व्यक्तिले सङ्गीत लाई आफ्नो जीवनमा उतारेका हुन्छन। कसैलाई आधुनिक गीत मन् पर्छ त कसैलाई लोक गीत। अनि कसैलाई दोहोरी गीत मन् पर्छ भने कसैकसैले भजन किर्तन गाएर वा सुनेर पनि आफ्नो मन् लाई आनन्दित पारेका हुन्छन्।
तर त्यही मानिसलाई मनोरञ्जन दिने र जीवन सरस बनाउने गीत हरुले नै कहिले काँही मानिसलाई भावुक बनाउने पनि गर्दछ। हरेक व्यक्तिको जीवनमा राम्रा नराम्रा र सुखद् दुःखद घटना भोगाइ हरुका सम्झना रहेका हुन्छन्। त्यस्तै वर्षभरिमा आउने चाडवाड हरुले फरक फरक आफ्ना प्रिएजन हरुका याद पनि दिलाइरहेका हुन्छन् भने त्यही याद पनि टाढा मात्र भएका भए कम ,गुमाइसकेको भए निक्कै बढी अनि अनाहकमा गुमाउनु परेको भए अझै पीडादायी बन्ने गर्दछ।र त्यस्तै मानिसका पीडा, माया प्रेम अनि संघर्ष को वर्णन गरी ,गीत, सङ्गीत हरेक व्यक्ति का जीवन को भोगाइ र भावना सँग मेल खाने किसिमका बनाइएका हुन्छन् । त्यही संगीत आफ्नो जीवनको घटना र मन् सँग मेल खाने खालको भयो भने त्यस्ता सङ्गीत ले मानिसको मन् छोएको हुन्छ।
एक दिन आफ्नी आमा सँग छोटो दुरीको यात्रामा जाँदा बजेको त्यो गीत जुन थोरै बजिसके मात्र मैले याद गर्न पुगेछु।गाडी को झ्याल बाट बाहिर देखिने दृष्य मा भुलेर नै मेरो त्यो गीतअलिकति छुटिसकेको रहेछ। जब त्यो गीतको शब्द मेरो कानमा गुन्जियो म नराम्रो सँग झस्किएँ गीतको बोल थियो
रुन्छौ आमा धरधरी जहिले नि
के भयो खै ?भन्दिनौ कहिले नी
भन्नु नभाको……..
आमा हाम्रो बाबा घर फर्केर किन नआको?
आमा रातो सारी चुरा पोते किन नलाको?
बच्चाहरु साना हुँदा नै आफ्नो श्रीमान गुमाएकी नारीको पीडा पोखिएको यो गीतमा भने झैं धरधरी रोएर आफ्ना साना साना ४ सन्तान लाई कहिले नदेखाई हुर्काएकी मेरी आमाले रातो सारी अनि चुरा पोते लगाएको स्मरण नै नभएकी मैले ,आमा सँग हाम्रो बाबा घर फर्केर किन न आको ? भनेर सोध्न नसकेको भए पनि बाटो हिँड्ने हरेक आफ्नो बुवाको उमेरका मान्छेहरुमा ,आफ्नै बाबुको अनुहार कुनै दिन देखिन्छ कि भनेर धेरै समय सम्म नियालेकी थिएँ।
त्यसैले आफूले सुनेको यो गीत आफू सँगै भएकी आमाले नसुने हुन्थ्यो भन्ने लागेर आमालाई अरु नै कुरामा भुलाउन र आफ्नो भक्कानिएको मन् सम्हाल्न मलाई निकै गाह्रो भइरहेको थियो। यो गीत सकिए सँगै हाम्रो गन्तव्य पनि आइसकेको त थियो तर पहिलो पटक सुनेकोत्यो गीतमा भनेका शब्दहरूले मेरो मनमा यति धेरै प्रभाव पारे छन् कि धेरै दिन सम्म त्यही गीत मुखमा बसी रह्यो अनि जति पटक एक्लै बसेर गाइयो उति नै पटक आँखाका भेल हरु थामी नसक्नु भएर झरिरहन्थे ।
त्यो दिन म आमा सँग एउटा, आफ्नो उमेर हुँदा अत्यन्त समर्थ वान, निडर र कुनै कुराबाट हार नखाने व्यक्ति तर उमेर र रोगले ग्रस्त भएपछि कमजोर बनेका बुवा नाता पर्ने मान्छेलाई भेट्न गएकि थिएँ। उहाँले आफूलाई रहर लागेको तर गर्न नसकेको कुरा हामीलाई बताउँदै र गरिदिन अनुरोध गर्दै आँसु झार्नु भएको थियो अनि त्यही मौका पारेर मैले पनि उहाँको कुरामा सहमति जनाउँदै आफूले बाटोभरि आमाको नजरमा लुकाउँदै थुनेर राखेका नयनका बाँध हरुलाई फुकाएकी थिएँ।
त्यस घरका मान्छे हरुले त्यहीं को माहोलले मेरो मन पग्लिएको सम्झेको भए पनि मेरा नयनहरु बर्सनुको कारण भने त्यो मात्र नभएर, त्यो पनि थियो।