0 COMMENTS

 काठमाण्डाै१३चैत्र०७६/  सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि ।
तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।
बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीलाई सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए। ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन्। मैले के जवाफ दिने?’

लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन। आधा घण्टामा कल गर्नुस् न है।’

दुवैको जवाफबाट स्वास्थ्य मन्त्रालयका विभागहरूबीच अहिलेको विषम परिस्थितिमा पनि राम्रो समन्वय नरहेको प्रस्टै बुझिन्थ्यो। मन्त्रालयका यस्तै कमजोरीबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अपराह्न ४ः१५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिए– एयर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत यूएईबाट आएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखियो। पत्रकार सम्मेलनमा उनले अब सबै संयन्त्र ‘चेन अफ कमान्ड’ का आधारमा चल्ने र त्यसलाई सबैले मान्नुपर्ने पनि बताए।

चिकित्सकहरूले भने संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएका छन्। ‘ती व्यक्ति संक्रमित रहेको कुरा हिजो (मंगलबार) राति नै मन्त्रालयलगायतलाई थाहा रहेछ, तर हामी उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र सञ्चार माध्यमबाट थाहा पायौं,’ टेकु अस्पतालका डा राजेश साहले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।