0 COMMENTS

वि.सं. २०७६ कार्तिक ०२ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर १९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कार्तिक कृष्णपक्ष (कौलागा) षष्ठी तिथि, भोलि बिहान ०४:१५ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मृगशिरा नक्षत्र, साँझ ०४:०१ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), परिघ योग, मध्यरात्रीपछि ०१:१७ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा गर करण साँझ ०४:४० बजेसम्म, त्यसपछि वणिज करण भोलि बिहान ०४:१५ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा। सूर्योदय : बिहान ०६:०६ बजे, सूर्यास्त : साँझ ०५:३० बजे, दिनमान : २८ घडी २९ पला (११ घण्टा २४ मिनेट, रात्रीमान : ३१ घडी ३१ पला (१२ घण्टा ३६ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्नेछन्, तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक जोखिममा पर्न सकिन्छ, होस राख्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमङ्ग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा/व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो भए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –अहिलेको समय तपाईंको पक्षमा छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।