0 COMMENTS

काठमाडौं  १० असोज, । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार याे सुविधा असाेज १०–१७ गतेसम्म उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट मात्रै नयाँ नोट वितरणको चाजो पाजो मिलाइएको जनाएको छ । थापाथलीस्थित कार्यालय निर्माणाधीन रहेकाले नोट सटही सुविधा अन्यत्रबाट दिइएको हो ।

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेकाे छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएकाे छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

उपत्यका बाहिर कहाँ–कहाँबाट पाइन्छ ?

राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने प्रबन्ध मिलाइएको छ ।

राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।