0 COMMENTS

वि.सं. २०७६ भाद्र ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : इन्द्रध्वजपातन, नानीचाया, गातिला, आश्विन कृष्णपक्ष (ञलागा) तृतीया तिथि, दिउँसो ०२:०७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्विनी नक्षत्र, मध्यरात्रीपछि ०५:२५ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, मध्यरात्रीपूर्व ११:२१ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०२:०७ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०२:४० बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४९ बजे, सूर्यास्त : साँझ ०६:०६ बजे, दिनमान : ३० घडी ४२ पला (१२ घण्टा १७ मिनेट, रात्रीमान : २९ घडी १८ पला (११ घण्टा ४३ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमङ्ग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा/व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो नभए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ टाढिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।