0 COMMENTS

काठमाडौ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछापका जिल्ला अस्पतालहरुमा धेरै क्षति पुगेपछि ती अस्पतालहरु अस्थायी रुपमा पालहरुबाटै सञ्चालन भइरहेका छन्। त्यस्तै देशभरमा करिब ११ सय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य संस्थामा क्षति पुगेकोले तिनीहरुको मर्मतको तयारी भइरहेको अधिकारीहरुले बताएका छन्।

भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोक जिल्लामा जिल्ला अस्पतालसहित अधिकांश स्वास्थ्य चौकीहरुमा क्षति पुर्याएको थियो। भूकम्प लगत्तै सदरमुकाम चौताराबाट सञ्चालन भइरहेको अस्थायी शिविरको अस्पतालको अवस्था अहिले साढे तीन महिना पुग्न लाग्दा पनि उस्तै छ।

तयारी
“भूकम्प गएपछि अब यहाँ बस्न सुरक्षित छैन भनेर हामीले अस्पताललाई नै चौताराको टुँडिखेलबाट चलाउन सुरु गरेका थियौ,” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरकुमार राजभण्डारीले भने।
पहिला ३५ शैय्याको अस्पताल अहिले पालमा पुगेपछि बिरामीको संख्या अनुसार बढाएर ६० शैय्याको बनाइएको छ।

जिल्लाभरका करिब २० गाविसका मानिसहरु दैनिक १ सय २० देखि १ सय ५० जनाको संख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पतालको तथ्यांक छ। नजिकैको स्वास्थ्य चौकीहरु भूकम्पका कारण पूर्ण रुपमा क्षति भएपछि विरामीहरु टाढा टाढा गाउँबाट हिँडेर उपचारका लागि सदरमुकाम आउन बाध्य भएको बताउँछन्।

त्यसतै एक बिरामीले भने, “जोर्नी दुखेर खुट्टा माथि उठाउनै हुँदैन त्यसैले उपचार गर्न ४ घन्टा हिँडेर आएको।” जिल्लाभरका ८० स्वास्थ्य चौकी मध्ये ६३ वटा पूर्ण रुपमा क्षति भएको छ भने १२ वटामा आंशिक क्षति पुगेको छ।

योजना
विपद्पछि अत्यावश्यकीय सेवा दिन सञ्चालन गरिने अस्थायी शिविर सामान्यतया तीनदेखि ४ महिनासम्मका लागि हुने गर्छ। त्यसैले अब छिट्टै जिल्ला अस्पतालका सेवालाई अस्पतालहाताभित्रै सार्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरकुमार राजभण्डारीले बताए।

उनले भने, “अब १५/२० दिनभित्र नर्वेजियन रेडक्रसको सहयोगमा पालमा सञ्चालन भइरहेको अस्पताललाई हामी अस्पताल हाताभित्रै सार्ने तयारीमा छौं।” सिन्धुपाल्चोकमात्रै नभइ भूकम्प प्रभावित १४ जिल्लाका स्वास्थ्य संस्थाहरुमा पुगेको क्षतिलाई आवश्यकता अनुसार पुनर्निर्माण र नवनिर्माणका लागि दाताहरुसँग मिलेर तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका नीति योजना अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए।

उनले भने, “हामीले अहिले पालमा रहेका अस्पताल र स्वास्थ्य चौकीलाई २/३ वर्षका लागि थेग्ने गरी बनाउनको लागि कामहरु गरिरहेका छौं।” तर सबैजसो क्षेत्रमा योजना गरिए अनुसार समयावधिभित्रै काम नसकिने अभ्यास देखिएकोले यसमा पनि पत्याइ हाल्ने अवस्था नरहेको कतिपयको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।