0 COMMENTS

खोटाङ, २१ साउन । जिल्लाका किसान अलैँचीखेतीप्रति आकर्षित बन्दै गएका छन् ।

Alaichi-अन्य खेतीभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसप्रति आकर्षित भएका हुन् । गत वर्षमात्रै जिल्लाबाट रु ८० करोड बढीको अलैँची निकासी भएपछि किसानले धान खेत मासेर भए पनि अलैँचीखेती गर्न थालेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । “अलैँचीले राम्रो बजार मूल्य पाउन थालेको छ,” उहाँले भन्नुभयो – “किसान धान खेत मासेर धमाधम अलैँचीको बिरुवा रोप्न थालेका छन् ।”

यस वर्ष जिल्लाको उत्तरी गाविस फेदी, ऐसेलुखर्क, सुङ्देल, बाक्सिला, पाथेका, खार्मी, जालपा, हौंचुर, खार्पालगायतका धानखेती हुने ठाउँमा हजारौैँ अलैँचीको बिरुवा रोपिएका छन् ।
त्यस्तै जिल्लाको पूर्वी गाविस बाँझेच्यानडाँडा, खिदीमा, निर्मलीडाँडा, रतन्छा, दोर्पाचिउरीडाँडा, नेर्पालगायतका गाविसमा पनि अलैँचीका बिरुवा रोपिएका छन् ।

जिल्लाको दक्षिणी गाविस चिप्रिङ, बोपुङ, डम्बर्खुशिवालय, बड्कादियाले लगायतका गाविसमा पनि बिरुवा रोपिएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । “व्यावसायिक रूपमा विकास गर्न हामी एक भएर लागी परेका छौँ,” उहाँले भन्नुभयो । जिल्लाको ७२ गाविस र एक नगरपालिकामध्ये ६४ गाविस र नगरपालिकामा अलैँचीखेती गरिन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कमा आठ सय ७५ हेक्टरमा चार सय ३७ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको पाइएको छ ।

अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि गाउँ–गाउँमा विरुवा उत्पादन गर्न थालिएको छ । यस वर्ष पोहोरको तुलनामा दोब्बर अलैँची उत्पादन हुने बाँझेच्यानडाँडाका अलैँची किसान रघुनन्द राईले बताउनुभयो । जिल्लाबाट करोडौँको अलैँची निकासी सुरु भएपछि खोटाङस्थित जिल्ला विकास समितिले निकासी कर लागू गरेको छ । गत वर्षको जिल्ला परिषद्ले पारित गरेअनुसार प्रतिकिलो रु चारका दरले निकासी कर लिने तयारी गरिएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो ।

यसअघि खोटाङको निकासी कर भोजपुर, उदयपुर, धनकुटा, सुनसरी, झापाबाट लिने गरिएको थियो । यो वर्षदेखि जिल्लामै निकासी कर सङ्कलन हुने भएपछि त्यसले जिल्लाको विकासमा ठूलो टेवा पुग्ने सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।