0 COMMENTS
काठमाडौँ, १२ असोज/ उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज काठमाडौँ महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु÷नगराउनु ।”
आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानूनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्नसमेत अदालतले महानगरपालिकालाई भनेको छ । अदालतले दुवै पक्षसँग छलफलका लागि यही १४ असोज गते बोलाएको छ । काठमाडौँ महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने उल्लेख गर्दै अटेर गरे भत्काउने सूचना गरेको थियो ।
उक्त यातायात प्रालिले १४ रोपनी जग्गामा रू १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरपालिकाले ‘एक बसपार्क’ नीति लिएको उल्लेख गर्दै सञ्चालन अनुमति दिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।