0 COMMENTS
प्रतिभा भट्टराई

प्रतिभा भट्टराई /निष्पट्ट कालो औंसीको रात,सडकमा झगडा गर्दै गरेका आवारा केटाहरुकाे सुन्नै नसकीने भाषा, परिस्थितीले घरमा एक्लो हुनुपरेको अवस्था , अनि वैशाख १२ को महाभूकम्पले नराम्रोसँग हल्लिएको जमिन थामिसकेको भएपनी नमज्जासँग हल्लेको मुटु थामिन नपाएकै बेला ,करिब १० मिनेटको फरकमा दुई पटक पराकम्पको नाममा गएका भूकम्प को धक्का बाट त्रसित अनि हरेक दिन विदेशबाट समय मै आउने फोन रातको १०.३०सम्म नआएकोले तड्पिएको मन् लिएर पनि निडर बनेर रात बिताउन बाध्य भएकै बेला ,सामाजिक सञ्जालको सहारा लिएर मन् सम्हाल्दै गर्दा उस्को फ्रेन्ड रिक्वेस्ट देख्ना साथ म प्रोफाइल हेर्न तीर लागें।

निकै म्युचुवल फ्रेण्ड उस्को मा देखे पछि आफुले नचिने पनि उस्ले मलाई चिनेको रहेछ कि भन्ने लागेर मैले उस्को रिक्वेस्ट एसेप्ट गरेकी पनि थिएँ।
अनि,मैले उसको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्ने बित्तिकै उसले मलाई प्रश्नमाथि प्रश्न गर्दैै निकै कुराहरु सोधेको थियो।म पनि कसैको फोनको प्रतिक्षामा भएकीले उस्का प्रश्नहरूको जवाफ गलत भए पनि दिँदै गएकी थिएँ। उसले मलाई उसको साथीको श्रीमती सम्झेको रहेछ ।मैले चाहिँ उस्लाई आफुले नचिनेको आफन्त हो की भन्ने अनुमान लगाएको थिएँ। निकै कुरा गरिसकेपछि उसले मलाई म उसले खोजेको मान्छे नभएको र रातको समयमा डिस्टर्ब गरेका कारण क्षमायाचना गर्दै सरी भनेको थियो भने मैले पनि आँफुले चाहेको फोन आइसकेका कारण उसको प्रश्नको जवाफ दिन जरुरी नठानेर फोन अफ गरेकि थिएँ।

उस्ले खोजेको मान्छे म र मैले चिनेको मान्छे ऊ नभए पछि ऊ मेरो साथीको लिस्ट मा रहनु को के अर्थ ?भन्ने लागेको भए पनि, त्यतिखेर सम्म कूनै साथी लाई लिस्ट बाट हटाउनु नपरेकोले मैले यो तरिका जानेकै रहेनछु ।

त्यसैले मैले अन फ्रेण्ड गर्छु भन्दा भन्दै उस्ले धेरै पटक गुड मर्निङ ,पठाउन भ्यायो भने उसको काम, कर्तव्य, अप्ठ्यारा परिस्थितिहरु, आफ्नो गाउँ, परिवार, सञ्चो बिसञ्चो, रमाइला क्षण, दिक्दारी लगायत सम्पूर्ण कुरा हरु सेर गर्न पनि भ्यायो। मैले पनि एकपटक कुरा गरिसकेको र निक्कै आदरका साथ सोधिने प्रश्नहरु भएकोले जवाफ छोटो र त्यस्तै परे झूटो भए पनि दिँदै गएँ। मैले एक दिन जवाफ नफर्काउँदा ऊ मलाई हजुर म सँग नबोल्नु भएको तीन दिन भइसक्यो किन रिसाउनु भएको हो र भनेर प्रश्न गर्थ्यो।

मलाई हरियो बत्तीमा देख्ने वित्तिकै प्रश्न बर्साउने उस्लाई मैले हरीयो बत्तीमा देख्ने वित्तिकै निक्कै पटक आफ्नो मोबाईल मा Wifi अफ गरेकी थिएँ। बिस्तारै बिस्तारै ऊ मलाई आफ्नो समस्या बताउने र सल्लाहको अपेक्षा गर्ने हुन थाल्यो साथै अप्ठ्यारो पर्यो भने सहायता गर्ने प्रतिबद्धता पनि जनाउन थाल्यो। मलाई उस्को सहयोगको खाँचो त छँदै थिएँन तर साथी कै नाताले आफुले केही शब्द बोलिँदिदा उस्लाई सहज हुन्छ भने मेरो के जान्छ र? भन्ने चाहिँ सोच्न पुगेछु । हुँदा हुँदै ऊ आफ्नो श्रीमती सँग भएको सानोतिनो झगडा पनि म अपरिचित मान्छेलाई सुनाउने भयाे जून मलाई पटक्कै राम्राे लागेन। ऊ काठमाण्डौ मा काम गरेर एक्लै बस्ने र उसकी श्रीमती गाउँमा सबै व्यवहार धानेर बस्ने गर्दा कहिलेकाँही घुर्की लगाउने गर्दी रहिछन्। यस्ता कुरा सबै उसले बताइरहे पनि मैले चाहिँ केहि जबाफ दिने गरेको थिइँन । उ मलाई उस्को परिवारको, अनि रमाइला क्षण हरूको फोटो पनि पठाउँथ्यो जस् प्रति मलाई कुनै चासो नै थिएन।
मैले कहिलेकाहीँ फेसबुक मा राखेका तस्बिरहरू देखेर सायद उ मलाई निक्कै घुम्न मन् पराउने मान्छे भनेर चिन्दथ्यो र छुट्टी को दिन आए पछि आज हजुर कहाँ घुम्न जाने?भनेर सोध्ने गर्दथ्यो । यत्तिकैमा उसले मलाई एकदिन घुम्न जाने प्रस्ताब राख्यो मैले तपाईं नेटमा भेटेको मान्छे सँग नेटमा नै घुम्ने हो ,बाहिर त हैन नि भनेर टारिदिएँ । त्यसैको केहि दिन पछि एकदिन बिहानै , एउटा फोन गर्नु परेको ले मोबाईल अन गरेँ। उस्को मेसेज आयो, म्याम आज दक्षीण कालि जाँदैछु हजूर जानुहुन्छ?
उस्को यो प्रश्नले म नराम्रो सँग झस्किएँ। म भगवानमा पुरै आस्था राख्ने र मन्दिर जान भने पछी रमाउने मान्छे लाई गरीएको यो प्रश्न मात्र सुन्दा नराम्रो त छँदै थिएन। मैले उस्को केही प्रश्नको उत्तर गलत र छोटो भएपनी दिइरहँदा उस्ले मलाई के सोचेछ कुन्नी ? तर समय, परिस्थिति, र अपरिचित मान्छेको कारण यो प्रश्नले भने मलाई थाहै नपाई च्वास्स बिझ्ने काँडा ले झैं झस्कायो। मलाई केही बोल्न मन् लागेन र अब केहि नबोल्ने निर्णय पनि लिएँ तर,उसले फेरि सोध्यो किन केही नबोल्नु भएको हजुर?
अब भने मेरो मनमा निक्कै कुराहरू मडारिन थाले । ओहो! बिबाह अघि चिनजान,गफ र भेटघाट हुँदै धेरै का घर बसेका उदाहरणहरु त देखेकै हो तर बिबाह पश्चात पनि यसैगरी एक्लिएका मन् हरु को भेटघाट, गफ, घूमघाम र नजिकिए सँगै चार घर बर्बाद भएका घटना का समाचार हरु सुन्नमा आउने यस्तै भएर पो हो कि ?भन्ने शंका सहित मन्दिर बाट फर्के पछि पनि उसले केही कुरा गर्थ्यो होला भन्ने लाग्दा लाग्दै मैले उस्लाई ब्लक गरिदिएँ।
यसरी जीवनको गोरेटोमा यात्रा गरिरहँदा आएका उकाली र ओराली हरुमा, भेटिएका र छुटिएका हरु मध्ये मिलेका मन् हरु सँग सम्बन्ध अगाडि बढाइरहँदा कहाँ मोडिनु पर्ने हो र कहाँ रोकिनु पर्ने हो भन्ने जानिएन भने हुन जाने दुर्घटनाको शिकार ती मन् नमिलेका व्यक्तिहरूले भइदिने भए त के थियो र ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।