0 COMMENTS

नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना भने अब समाप्त भएको छ । नेपालले बंगलादेशमा भएको गत टीट्वेन्टी विश्वकपमा सहभागिता जनाएको थियो । आईसीसीको सिनियरस्तरको विश्वकपमा नेपालको त्यो पहिलो सहभागिता थियो । त्यस अघि यूएईमा भएको छनोटमा नेपाल प्रतियोगिताकै तेस्रो बनेको थियो ।

 समूह चरणको अन्तिम खेलमा जर्सीसँग सात विकेटले पराजित भएपछि नेपालको दोस्रो पटक टीट्वेन्टी विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएको छ । टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत शनिबार डब्लिनस्थित द भिलेज मालाहिले मैदानमा भएको खेलमा नेपालले जर्सीसँग पनि कमजोर प्रर्दशन गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा एकसय पाँच रनको सामान्य स्कोर खडा गरेको थियो ।

एक सय ६ रनको विजयलक्ष्य पाएको जर्सीले १६.१ ओभरमा तीन विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । जर्सीसँगको हारसँगै आगामी वर्ष भारतमा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको चाहना अधुरो बन्यो ।

छनोट खेलमा सहभागी बन्नुअघि नेपाली टोलीले छनोटको उपाधि जितेर फर्कने लक्ष्य राखेको थियो । कमजोर ब्याटिङले सताएको नेपाली टोली अन्ततः एक जित र एक बराबरीको नतिजासहित केवल तीन अंकमा समेटियो । बाहिरिइसकेको नेपालले अब प्रतियोतिगाको वरीयताका लागि खेल्नेछ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान प्रदीप ऐरी र विनोद भण्डारी फिका साबित बने । प्रदीप १३ बलमा दुई रन जोड्दै पेभेलियन फर्किएका थिए । विनोद तीन रनमै आउट भए । यसैगरी तेस्रो नम्बरमा मैदान छिरेका उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रन जोडे । उनले ३३ बलमा उक्त रन जोडेका थिए ।

कप्तान पारस खड्काले ११ रन बनाए । पाँचौं ब्याट्सम्यानका रूपमा मैदान छिरेका राजेश पुलामीले चार रनमात्र जोडे । शरद भेषावकरले १६ रन बनाए । शरदले २० बलमा उक्त रन जोडेका थिए ।

यसैगरी जर्सीविरुद्ध सिनियर टोलीमा डेब्यु गरेका सिद्धान्त लोहनीले नेपालको एक सय रन कटाउन महत्वपूर्ण भूमिका खेले । सिद्धान्तले सर्वाधिक २७ रन जोडेका थिए । १६ बलमा उक्त रन जोडेका सिद्धान्तले दुई छक्का र दुई चौका हानेका थिए । यसअघि यू–१९ टोलीमा रहेका सिद्धान्तले यसै खेलबाट सिनियर टोलीमा मौका पाएका हुन् । वसन्त रेग्मीले सात रन बटुलेका थिए । सोमपाल कामीले अविजित तीन रन जोडे ।

बलिङमा जर्सीका नट वाटकिन्सले तीन विकेट लिए । एन्थोनी कीले दुई, बेन स्टेभेन, चार्लेस पर्चाड र कोर्नेलिस बोडेन्सटेनले एकएक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको जर्सीका लागि १७ वर्षीय युवा खेलाडी जोन्टी जेनरले सर्वाधिक ३० रन बनाए । पिटर गोच र कोर्नेलिस बोडेन्सटेनले २७/२७ रन जोडे ।

कोर्नेलिसले अविजित २७ रन बनाएका थिए । बेन स्टेभेनले अविजित १० रन बनाए । बलिङमा नेपालका शक्ति गौचन र पारस खड्काले एकएक विकेट झारेका थिए ।

टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत शुक्रबार पपुआ न्युगिनीसँग आठ विकेटले पराजित भएपछि नेपाल समूहको शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको हो । नेपालले ६ खेलमा तीन अंकमात्र जोड्न सक्यो । लगातार चौथो हार खेपेको नेपालले अन्तिम खेलमा पनि कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो । नेपाली ब्याट्सम्यानको प्रदर्शन निकै अपरिपक्व रह्यो ।

नेपाली टोलीका कप्तान पारस खड्काले तयारी नपुगेका कारण प्रतियोगितामा अासागरे अनुसार  प्रदर्शन गर्न नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।