0 COMMENTS

बुधबार बेलुका भएको खेलमा नेपाल हङकङसँग पाँच विकेटले पराजित

काठमाडौँ  ३१ असार । ट्वन्टी–ट्वन्टी विश्वकप छनौट प्रतियोगिताको आफ्नो चौंथो खेलमा हङकङसँग पराजित भएको नेपालका लागि विश्वकप यात्रा केही कठिन बन्ने भएको छ । बुधबार बेलुका भएको खेलमा नेपाल हङकङसँग पाँच विकेटले पराजित हुँदै अंक तालिकाको पाँचौं स्थानमा झरेको छ ।

चार खेल खेलको नेपालको तीन अंक मात्रै छ भने तीन खेल खेलेको हङकङको समान तीन अंक भएपनि रनरेटका आधारमा नेपाल भन्दा अघि छ । सन् २०१६ मा भारतमा हुने ट्वन्टी–ट्वन्टी विश्वकपका लागि छनौट हुने सम्भावना जिवितै राख्न नेपालले समूह समुह चरणको खेल सकिँदा कम्तिमा अंक तालिकाको चौंथो स्थानमा रहनु पर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नियम अनुसार समुह चरणको खेल सकिँदा चौथो स्थानसम्म रहने टिमको विश्वकपमा छनौट हुने सम्भावना कायम रहन्छ । प्रतियोगितामा सहभागी १४ देशलाई दुई समुहमा विभाजन गरेर प्रतिस्पर्धा भैरहेको छ । यो प्रतियोगिताबाट ६ टोली विश्वकपका लागि छनौट हुनेछन् । छनौट भएका ६ टोलीले ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा आइसिसीका १० पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् । समुह चरणको खेल सकिँदा समुह ए र बीको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि सिधै छनौट हुने आइसिसीको व्यवस्था छ ।

बाँकी चार टोलीका लागि भने प्लेअफ खेल हुनेछ । त्यसका लागि समुह एको दोस्रो स्थानमा रहने टोलीले समुह बीको तेस्रो स्थानमा रहेको टोलीसँग र समुह एको तेस्रो स्थानमा रहेको टोलीले समुह बीको दोस्रो स्थानमा रहेको टोलीसँग प्लेअफ खेल खेल्नेछ । यो पहिलो प्लेअफमा विजयी हुने दुई टोली पनि विश्वकपका लागि छानिने छन् । यस्तै थप दुई टोलीको छनौटका लागि फेरि अर्को प्लेअफ खेल हुनेछ । त्यसका लागि पहिलो प्लेअफमा हारेको समुह एको टोलीले समूह बीको चौंथो स्थानमा रहेको टोली र पहिलो प्लेअफमा हारेको समुह बीको टोलीले समुह एको चौंथो स्थानमा रहेको टोलीसँग खेल्नेछ । यो दोस्रो चरणको प्लेअफ खेलमा विजयी हुने दुई टोली विश्वकपका लागि छनौट हुने आइसिसीको व्यवस्था छ । यसरी आइसिसीको छनौट प्रक्रिया नियाल्दा समुहको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि सजिलै छनौट हुने विकल्प नेपालका लागि लगभग समाप्त जस्तै भएको छ । अब समुह एको शीर्ष स्थानमा रहेको आयोजक आयरल्याण्डले बाँकी दुवै खेल गुमाउने, यस्तै दोस्रो स्थानमा रहेको पपुवान्युगिनीले खेल्न बाँकी तीन खेलमा गुमाउने वा दुुई खेल गुमाउने तथा एक खेलमा अंक बाँडेको अवस्था, तेस्रो स्थानमा रहेको नामिबिया र चौंथो स्थानमा रहेको हङकङले खेल्न बाँकी तीन खेलमा कम्तिमा दुई खेलमा पराजित भएमा तथा नेपालले आफ्ना बाँकी दुवै खेल जितेमा मात्रै पहिलो स्थानमा रहँदै विश्वकपका लागि छनौट हुने सजिलो विकल्प रहन्छ । तर यो पहिलो विकल्प नेपालका लागि अब अत्यन्तै दुर्गम भएको छ ।

नेपालले प्लेअफका लागि स्थान बनाउनका लागि पनि शुक्रबार पपुवान्युगिनी र शनिबार जर्सीसँग हुने खेल जित्नुपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहँदै समुह चरणको खेल सक्ने हो भने पनि नेपालले छनौटका लागि दुई पटकसम्म प्लेअफ खेल्न पाउने छ । तर चौथो स्थानमा रहे पनि एक पटक प्लेअफ खेल्ने मौका भने पाउनेछ । नेपालको अबको ध्यान बाँकी दुवै खेलमा राम्रो रनरेटको जित निकाल्न तर्फ केन्द्रित हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।