0 COMMENTS

काठमाडौं, आषाढ २९ । सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको छ । यस्तै, अन्य सात ठाउँमा पनि क्रिकेट मैदान बनाउन रकम विनियोजन गरिएको छ ।

यस्तै, सरकारले यसै वर्ष काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्ने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरी कभर्ड हल बनाउन लागिएको हो ।

यसैगरी, सरकारले दशरथ रंगशालाको मैदान मर्मतका लागि १३ करोड रुपैयाँ छुट्टाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा ललितपुरको च्यासल फुटबल मैदानलाई वैकल्पिक मैदानको रुपमा विकसित गर्न रकम विनियोजन गरेको छ ।

यसैगरी, काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदान निर्माणका लागि रकम विनियोजन गरिँदा डिभिजन–३ क्रिकेटका लागि पुल्चोक इन्जिनियरिङ मैदानमा रहेको क्रिकेट मैदानको स्तर सुधार गर्नसमेत सरकारले रकम विनियोजन गरेको छ ।

विद्यालय स्तरदेखि नै खेलकुद विकास गर्न सरकारले देशका चार हजार सामुदायिक विद्यालय प्रत्येकलाई १० हजार रुपैयाँ छुट्टाएको छ ।

सरकारले भारतमा हुने १२औं सागको तयारीका लागि यो वर्षभित्रै पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नलाई रकम विनियोजन गरेकोसमेत अर्थमन्त्री डा. रामशरण महतले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।