0 COMMENTS

150609081202_apple_music_app_624x351_apple_nocreditआइफोन लगायतका स्मार्टफोनहरु चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरा मात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। स्मार्टफोनहरुका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरुले बनाएका विभिन्न एप्लिकेसनहरु हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टुदेखि एंग्री बर्डस्सम्मका गेम खेल्न होस्। आइफोनलाई टर्चका रुपमा प्रयोग गर्न होस् कि मौसमको जानकारी लिन, काठमाडौँमा बसेर इलामको एफएम सुन्न होस् कि न्युरोडमा बसेर न्युयोर्कको रेडियो सुन्न, यस्ता लाखौँ एप्लिकेसन्सहरु छन् जसले दैनिक जीवनलाई सहज बनाउँछ, रमाइलो बनाउँछ, तपाइँलाई एक्लो हुन दिँदैन। एप्स चलाउन थालेपछि तपाइँलाई थाहा हुन्छ, एप्स बिना त तपाइँको स्मार्टफोन केही पनि हैन।
स्मार्टफोनमा मुख्यतः दुई किसिमका अपरेटिङ सिस्टम बढी प्रचलनमा छ, एप्पलको आइओएस र गुगलको एन्ड्रोइड। आइओएस आइफोन, आइपड टच, आइप्याडमा प्रयोग हुन्छ भने सामसुंग, एलजी लगायत विभिन्न ब्रान्डका मोबाइलमा एन्ड्रोइड प्रयोग हुन्छ। एन्ड्रोइडका एप्स डाउनलोड गर्ने प्रक्रिया आइओएसमा भन्दा सजिलो छ। प्रक्रिया अलि लामो भएकैले कतिलाई एप्स कसरी डाउनलोड गर्ने थाहा नभएर आफन्त वा साथीभाइले विदेशबाट उपहारस्वरुप पठाइदिएका आइफोनहरु फोनमा कुरा गर्न र फोटो खिच्न र अरुलाई धाक देखाउनमात्रै प्रयोग भइरहेका छन्। अलिकति स्मार्ट हुने हो भने स्मार्टफोनलाई स्मार्टली प्रयोग गर्न खासै गाह्रो छैन। आउनुस्, आज आइफोनमा एप्स कसरी डाउनलोड गर्ने सिकौँ।
आइफोनमा एप्स डाउनलोड गर्न तपाइँसित वाइफाइको सुविधा हुनुपर्छ। अथवा तपाइँको आइफोनमा इन्टरनेट चल्ने हुनुपर्छ। यो आधारभूत सुविधा त धेरैसित भएकै हुन्छ। त्यसपछि तपाइँलाई चाहिन्छ एप्पल आइडी। धेरैसँग यही हुँदैन। अनि यो नभई तपाइँले आफूलाई चाहिएको एप्स डाउनलोड गर्नै मिल्दैन।
खासमा एप्स दुई प्रकारका हुन्छन् पैसा तिरेर किन्नुपर्ने र निःशुल्क। पैसा तिरेर किन्नुपर्ने एप्स त नेपालबाट किन्न सकिँदैन, किनभने हामीसँग अन्तर्राष्टिय कारोबार गर्ने क्रेडिट कार्ड हुँदैन। तर फ्रि एप्स भने हामी मज्जैले चलाउन सक्छौँ। यसका लागि तपाइँले फ्रि एप्पल आईडी बनाउनु पर्ने हुन्छ। यसको प्रक्रिया यस्तो छः

१) सुरुमा तपाइँको आइफोनमा रहेको एप स्टोरमा थिच्नुस्। तपाइँले फ्रि एप्पल आइडी बनाउन चाहेकोले सुरुमा तपाइँले फ्रि एप्लिकेसन डाउनलोड गर्ने प्रयास गर्नुपर्छ। त्यसका लागि मुनि रहेको टप २५ मा थिच्नुस्। त्यसपछि माथि रहेको अप्सनहरुमा टप फ्रि क्लिक गर्नुस्। त्यसपछि देखिने कुनै पनि फ्रि एप तपाइँ रोज्न सक्नुहुन्छ। अथवा टप २५ मा क्लिक नगरी सर्च थिचेर फेसबुक वा अन्य कुनै फ्रि एप्ाको नाम टाइप गर्दा पनि हुन्छ। रोजेको एपमा थिच्नुस्।

२) अब त्यो एपको बारेमा जानकारी दिने पेज खुल्छ। ध्यान राख्नुस् कि एप डाउनलोड गर्ने ठाउँमा फ्रि लेखिएको हुनुपर्छ, यति डलर तिर्नुपर्छ भन्ने जानकारी हैन। फ्रि लेखिएको ठाउँमा एक पटक थिच्नुस्, त्यो निलो रंगको फ्रि लेखिएको ठाउँ हरियो रंगको इन्स्टल लेखिएकोमा बदलिन पुग्छ। इन्स्टलमा थिच्नुस्।
३) अब तपाइँलाई साइन इन गर्न भनिनेछ। तपाइँलाई तीन वटा विकल्प दिइनेछः भएको एप्पल आइडी प्रयोग गर्ने कि, नयाँ एप्पल आइडी प्रयोग गर्ने कि क्यान्सिल गर्ने।

४) तपाइँको आइफोनमा यसअघि नै कसैले अर्कै एप्पल आइडी प्रयोग गरिसकेको छ भने इन्स्टल थिच्ने बित्तिकै तपाइँसित पासवर्ड पो मागिनेछ। पासवर्ड मागिएको हो भने तपाइँले आफ्नो आइफोनबाट त्यो अकाउन्टलाई हटाउनु पर्ने हुन्छ। यसका लागि सेटिंग्समा थिच्नुस्। त्यसपछि स्टोरमा थिचेर साइन आउट रोज्नुस्। फेरि माथिको १ देखि ३ सम्मको प्रक्रिया अपनाउनुस्।
५) ३ नम्बरको प्रक्रियापछि दिइएका तीन विकल्पमा क्रिएट न्यु एप्पल आइडीमा थिच्नुस्।
६) त्यसपछि तपाइँलाई आफ्नो देश वा क्षेत्र छान्न भनिनेछ। त्यसमा नेपाल छान्नुस् र नेक्स्ट थिच्नुस्।
७) अब तपाइँलाई ३२ पेजका शर्तहरु देखाइनेछ। त्यसको मुनि एग्री लेखिएको बटनमा थिच्नुस्। मैले पढिसकेँ भनेर फेरि एक पटक तपाइँलाई क्लिक गर्न लगाइनेछ।

८) अब नयाँ पेज खुल्नेछ। त्यसमा तपाइँले आफ्नो इमेल ठेगाना र पासवर्ड दुई पटक राख्नुपर्ने हुन्छ। पासवर्ड कम्तिमा आठ वटा अक्षर भएको र त्यसमा क्यापिटल अक्षर, स्मल अक्षर र नम्बर समेत हुनुपर्छ। स्पेस प्रयोग गर्न पाइँदैन र एउटै अक्षर तीन पटक पनि प्रयोग गर्न पाइँदैन। पासवर्डको मुनि केही सेक्युरिटी इन्फोहरु छन्। त्यसमा तपाइँले प्रश्न छान्दै जवाफ लेख्नुस्। भोलिपर्सि तपाइँको पासवर्ड हरायो भने भेरिफाई गर्न यो काम लाग्छ। त्यसको मुनि अप्सनल रेस्क्यु इमेल ठेगाना राख्ने ठाउँ छ। माथिको भन्दा फरक ठेगाना यसमा प्रयोग गर्नुस्। त्यसमुनि तपाइँले आफ्नो जन्ममिति राख्नुस्। त्यसपछि नेक्स्ट थिच्नुस्।
९) अब तपाइँलाई बिलिंग इन्फरमेसन देखाइनेछ। यसमा भिसा, मास्टरकार्ड आदि क्रेडिट कार्डको जानकारी राख्न भनिएको हुन्छ। सबैभन्दा मुनि नन लेखिएको हुन्छ। त्यसलाई छान्नुस्। नन लेखिएको भेट्नु भएन भने माथिका सबै प्रक्रिया राम्रोसँग दोहोराएर हेर्नुस्, के तपाइँले माथि भने जस्तै गर्नुभएको छ? छ भने निश्चित रुपमा यो हुनुपर्छ।

१०) नन छनौट गरिसकेपछि तल बिलिंग एड्रेसका रुपमा तपाइँले आफ्नो नाम ठेगाना राख्नुपर्छ। पोस्टकोड पनि मागिएको हुन्छ, त्यसमा अरु राखियो भने लिन मान्दैन, ००९७७ राखिदिँदा हुन्छ।

११) त्यसपछि तपाइँलाई तपाइँको इमेल ठेगानामा एउटा भेरिफिकेसन इमेल पठाइन्छ। इमेल खोल्नुस् र त्यसमा दिइएको लिंकमा क्लिक गर्नुस्। त्यो लिंकमा तपाइँको एप्पल आइडी र पासवर्ड राख्न भनिनेछ। तपाइँको इमेल तपाइँको एप्पल आइडी हो भने पासवर्ड चाहिँ तपाइँले अघि एप्पल आइडी खोल्दा प्रक्रिया नम्बर ८ मा राख्नुभएको चाहिँ। साइन इन गर्नुस्। अब तपाइँको फ्रि इमेल आइडी तयार भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।