0 COMMENTS

चितवन, १६ फागुन०७४/धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।

नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक वर्ष छ महिना अघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामा मात्रै तीनवटा बाच्छी जन्मिएको उहाँले बताउनुभयो ।

हालसम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सातवटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उहाँका अनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन् । वीर्य रहने मात्रा भने २५ प्रतिशत मात्रै हुने भएकाले दुई÷तीन पटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।

नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताउनुभयो । उहाँका अनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उहाँले बताउनुभयो ।

बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताउनुभयो । योसँगै बाच्छी मात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।

नेपालको पोखरामा आफँै वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचायले बताउनुभयो । सो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । जसबाट बाँच्छी मात्रै जन्मने गर्दछ । वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् । आचार्यका अनुसार यस प्रविधिअन्तर्गत संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छी मात्रै जन्मिने गर्दछ ।

क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामा मात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ । होलस्टेन, जर्सी जस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ । नेपालमा गाईको संख्या ७२ लाख रहेको छ । देशभरमा उत्पादित दूधमध्ये ३० प्रतिशत हिस्सा गाईले ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।