आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर
यिनैका चालले गर्दा बनाए डरको घर !
तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन्
आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।
खडेरी पल्टियो कस्तो विचार , सिर्जनातिर
स्वयम् घोषित यी योद्धा छन् कस्ता दिल जर्जर !!
ईर्ष्यालु मनमा कालो कालकै हुन्छ चिन्तन
मट्टयाड्॰ग्रो पोलिँदा माटो बने जीवन नै वन !
हिमाली रूप छन् फुड्० पोतिँदा रक्त रंगले
रुग्ण छन् बुटीका पाखा कुल्चिँदा बुटबूटले !
चाँदनी रूप अम्लान घना बादलले लुट्यो
हानी आलोकमा कोर्रा रात आँखातिरै बस्यो !
म हाँसूँ कसरी आज खस्दा शृंगार माधुरी ?
म रोऊँ कसरी आज रित्तिँदा अश्रुनिर्झरी ?
भावनाका चरी फस्छन् कति झल्लरी जालमा
आँखाका दृष्टिमा पर्दा कति लाग्छन् अकालमा !!
भाषा यो मनको बोली बुझ्छ को आज बासमा ?
आततायीहरू चढ्छन् सोपान मस्त शानमा ।
वेदना वेदना पग्ली बने अस्मेल सागर
धड्किएको हिया छाम्दा किन पाइन्न उत्तर ?
ननिभ्ने भुसको आगो भित्रभित्रै छ दन्दनी
अझ त्यै खोस्रिँदै ताप्छन् सत्ता शासनका धनी !
परदेश बने मेरा जन्मका घर आँगन
प्यादा लगाउँदै हाँस्छन् हाड घोटेर चन्दन ।
अझै फूल कति झर्लान्, शूल उठ्ला अझै कति !
मान्छे रित्तै कति होलान् चोरिँदा भाव- सम्पति !!
म न्यानो घाम कल्पेर हेर्छु आकाश पूर्वको
प्रतीक्षा अनिँदो आँखा दाह्रा लामो छ रातको !!
(छन्द : अनुष्टुप् )
(सपनामा हराएको बिपना – कवितासंग्रह -२०६६ बाट साभार )