0 COMMENTS

प्रतिभा भट्टराई/ मात्र उच्चारण को लागी निक्कै सजिलो अक्षर को घर केही लाइ धेरै वटा भएकोले व्यवस्थापन गर्न, कसैलाइ बास को लागी जोड्न र धेरै लाई भने खान निक्कै गारो हुने गर्दछ।
अङ्ग्रेजीमा House र Home को अर्थ फरक फरक बताइएको भए पनि नेपालीमा भने एउटै घर भन्ने शब्दले दुबै अर्थ लाई समेटेको पाइन्छ। बास जोड्नु पर्ने जिम्मेवारी पाएको पुरुष र बिना तलब,कूनै क्षण फुर्सद र छुट्टी नमिल्ने गरी व्यवहारको जिम्मा लिएर खानु पर्ने बाध्यता भएकी नारी दुबै लाई सायद यो घरले सारै पिरोलेको हुन्छ।
एउटा सक्षम पुरुष जस्ले मेहेनत गरी चार वटा घर नै किन बनाएको नहोसरु तर उसको घर भावनात्मक रुपमा सम्हालिदिने नारी छैन भने सो चार वटा घर हुने पुरुष पनि बेघर भइदिन्छ भने एउटा पनि घर नै नभएर डेरामा बसेको पुरुषको पनि घर रिझाएर खाने क्षमता भएकी नारी साथमा छ भने उसको घर बलियो भएको ठहर्छ । एउटा बास जोड्न नसक्ने पुरुष र घर गरेर खान नसक्ने महिला काम लाग्दैनन् भन्ने मान्यता समाजको पाइन्छ तर आजभोली का नारीका लागि घर खाने काम निक्कै जटील बन्दै गएको कुरा पनि यहि समाज नै बताउँछ।

एउटा पुरुषले निर्माण गर्ने डुङ्गा, माटो, ईंटा, रोडा र सिमेन्ट ले बनेको घर र नारीले माया, इमान्दारिता, सहनशीलता, कर्तव्य परायणताका साथ सम्हाल्ने भावनात्मक घर बीच निक्कै अन्तर देखीन्छ। कमाएर घर चलाउन गर्नु पर्ने जिम्मेवारी का पछाडि पुरुषका सङ्घर्ष का कहानी पनि नहोलान् भन्न सकिन्न तर ऊ आफ्ना हरूको माझ ,माया र साथ मा रहेको हुन्छ अनि एउटी महिला लाई भने आफ्ना हरु को माया र साथ छोडेर पराई घर आफ्नो बनाउन रात दिन तल्लीन रहँदा पनि आफ्नोपनको महसुस गर्न नसकिने परिस्थितिहरु बेला वखत खडा भइरहन्छन् त्यसैले त पिडा भोग्ने हरेक नारीका मनमा हर दिनका घटनाहरू पाना पाना बनेर किताब बनिरहेका हुन्छन् जून कसैका प्रकाशित हुन्छन् त कसैका हुन सक्दैनन।
मात्र शारीरिक बनावट फरक भएर, रहर अनि मन् पुरुष र नारीका उस्तै हुने भए पनि, पुरुषलाई कुनै कुरामा बन्देज नलगाउने समाज नारीलाई भने छोरी मान्छे भएर, बुहारी भएपछि तथा आमा भइसकेपछि जस्ता शब्द हरु ले हरेक मोडहरुमा रोकिरहेको हुन्छ र उस्का सपनाको महल भत्काइरहेको हुन्छ।

जतिसुकै वुझेर र हेरेर गाँसिएको सम्बन्ध भए पनि अर्काको घर को चलन र मानिसहरूका ब्यवहार हरु आफू सँग मिल्दो हुनु त्यति सजिलो छैन।
छोरी भएर जन्मेकै कारण माइतीमा लक्ष्मी वा महारानी का नामले बोलाइदै अत्यन्त मायामा हुर्केकी चेली एउटा उमेर पार गरे पछि अपरिचित पराई घरमा संस्कार धान्नका लागि जान ढिला गरी वा जान चाहिन भने ऊ माथी थुप्रै प्रश्न हरु बर्सिन थाल्छन् तसर्थ यसबाट जोगिन र चलन धान्न भनेर ठुलै चुनौती मोलेर पराई घरमा प्रवेश गरेकी नारीले घर परिवार शिक्षित ,संवेदनशील सरल र बुम्झकी भइदिए त केही राहत पाउँदी हो तर सकारात्मक सोचको दरिद्रता, पक्षपात पूर्ण व्यवहार, मानवीय मन् बुझ्न नसक्ने परिवार परिदियो भने चाहिँ सृष्टि को सुन्दर रचना नारीको जीवन नर्क बन्न पुग्छ भन्ने कुरा एउटी नारीलाई बताइरहनु पर्दैन भने पुरुषलाई बताउनु को कुनै अर्थ हुँदैन।

जन्म घरमा सबैको माया मा हुर्केकी ऊ कर्म घरमा सबैलाई माया दिएर स्याहार गरी घरका सम्पूर्ण सदस्य हरूको मन् जित्न र ब्यवहार घान्ने जिम्मा लिन बाध्य हुन्छे। माइतीमा सबै व्यवहार र काम जानेकी भनेर चिनिएकी ऊ घरमा केहि काम आमाले नसिकाएकी, नजान्ने र सिन्को नभाँच्ने हुन पुग्छे। माइतीमा मिठो बचन भएकी छोरी ऊ,घरमा कहाँ के बोल्नु पर्छ भनेर नजान्ने बोल्ने ढंग नभएकी हुन् पुग्छे। माइतीमा मीठो खाना बनाउने र सबै काम तरीका मिलाएर गर्न सक्ने, विवेकी र बुवाकी सल्लाहकार बनेकी ऊ घरमा कुन खाना कसरी खाने भनेर थाहा नभएकी, विवेकहीन र घर व्यवहार का कुरामा एक शब्द पनि बोल्न नहुने व्यक्ति बन्न पुग्छे।

भने आफ्ना सीप र अनुभव बताउन खोज्दा जान्ने सुन्ने भएकी , नबोल्दा घमण्डी जस्ता आरोप हरु पनि खेप्न पुग्छे।माइतीको अर्कै चलनमा निपुण भएकी ऊ घरका नौला चलनहरुमा अनविज्ञ हुन पुग्दा, बुहारी भएपछि सबै कुरा जान्नै पर्ने, गर्नै पर्ने छिटो उठनै पर्ने ,गल्ति गर्न नपाइने वा घरभित्र बिग्रेकासबै काम कुराहरूको कारकबन्दै ,घरमा ठूला कामपरेका बेलामा बिरामी हुन नपाउने, महिनावारी हुन् नहुने,अफिस मा छुट्टी नमिल्दा कसैले नखाएको जागिर हुने, तथा आफ्ना हरूले जिम्मा लगाएर पठाएको मान्छे सँग नजीक हुँदा परिवार बाट खोसेको भन्ने दोष समेत बोकेर आफ्ना रहर, चाहना, खुसि, उमेर, र क्षमता लुकाउँदै घर खानु पर्ने बाध्यतामा हराउन पुग्छे।

जन्मदै पराई घर जानु पर्ने र खानु पर्ने लाइसन पाएकी नारीले आफ्नो क्षमता को उपयोग गर्दै घुम्ने, रमाउने, अनि कमाउने गरेर पनि आफ्नो घरलाई सजाउन, सम्हाल्न र बचाउन सक्छे। केहि स्वतन्त्रता, सहयोग र उचित सल्लाह घर परिवारले उसलाई दिँदा, परिवारको केही बिग्रने देखिँदैन।

कसैका छोरी नै कसैका बुहारी हुने भए पछि बुहारीका इच्छा, जवानी, अनि मन् सबै मर्ने गरी बुहारी वा श्रीमती का लागि छुट्टै नियम बनाउँदा पुण्य मिल्छ भन्ने कुरा कूनै शास्त्र मा लेखिएको पनि त छैन होलारुअझै घर परिवार र श्रीमती बीच तालमेल मिलाउन नजान्ने र कुनै कुरा को आँट गर्न नसक्ने, नशाको लत लागेर हर रात ढिलो घर आउने अनि फेरि ठुलै पुरुषार्थ गरे झैं कुरा वा झगडा गरेर दिन भर गरेका कामको थकान पनि मेट्न नदिने जस्ता जीवन साथी भोग्न बाध्य नारीका गुनासा हरु पनि कति हुन कति रु भने,उमेर पुगे सँगै साथको जरूरत महसूस गरेर आफैंले रोजेर वा बाबु आमा ले इष्टमित्र, आफन्त वा साथीभाइहरुलाई गुहारेर मिलाइदिएको साथी, कामको सिलसिलामा बिदेसिँदा वा बाहिरिँदा, श्रीमान बिनाको उस्को घर, उस्को नामको सिंदूर लगाएर र उस्का आफन्त को मन् राखेर, उसैका बालबच्चा हरूको स्याहारमा रम्न पर्नुको पीडा पनि कम् कहाँ हुन्छन् र ?
यसरी बुहारी, श्रीमती, जेठानी,देवारानी भएर अनेकौं अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दै आएकी नारी बढ्दो उमेर र समय सँगै कमजोर बन्दै जाँदा कुनै कारणवश आफ्नो प्रिय मान्छे गुमाउन पुगी भने अझै धेरै मर्माहत हुन पुग्छे। आफ्नो दुःख, सुख बाँड्ने र कहिलेकाहीं मन् दुख्दा घुर्की लगाउन पाइने मान्छे नै नभएपछि उस्को याद लिएर उसैको सुन्य घरमा दिन बिताउन पर्नु को ब्यथा लिएर बाँच्नु पर्ने अवस्थाको सिर्जना त झन् आजभोली कम् उमेरका महिला हरुमा पनि निक्कै देख्न थालिएको छ, जस्ले देख्ने र सुन्ने हरुलाई नै दुःखी बनाएको हुन्छ भने भोग्नेका पीडा अवर्णित हुने नै भए।

यी र यस्ता अन्य भोगाई हरु सँग आफुले छातीमा टाँसेर दिएको न्यानो पन सँगै हुर्कंदै गएका सन्तानहरू सँगको चिसिदै गएको सम्बन्ध र कमजोरीपन भित्र लुकाउनु परेको आफ्नो अस्वस्थता, अन्तिम इच्छा अनी आफूले अनेक गरी बचाएको वा सम्हालेको घरबाटै टाढिनु पर्ने पो हो की भन्ने आशंकामा मृत्यु कूर्नु पर्दा को ब्यथा पनि कम दुःख लाग्दो हुँदैन। यसरी जीवनको अन्तिम घडी सम्म पनि एउटी नारीलाई आफुले जीवन सुम्पेको घरले तड्पाइरहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।