0 COMMENTS

वेदका रक्षक हिन्दू धर्मका अधिपति पृथ्वीपति मष्टोदेवको जय होस !

हिन्दूमात्रका राष्ट्रदेवता अर्थात् कुलायन मष्टोदेव वेदका रक्षक हुन् । मष्टोका भानिज दुर्गा पुत्र बाठपालालाई वेद पाठी मानिन्छ । लिखित रुपमा वेदका कतिपय अंश हराए भनिए पनि वाठपालाका धामीले फरर वेदका सम्पूर्ण पाठ भन्न सक्छन् । मष्टोको वेदसँग मात्र होइन सम्पूर्ण हिन्दू देवताहरूका परिवारसँग कस्तो सम्बन्ध छ भनी खोजी गर्दा हाम्रो धर्मशास्त्र वेदले नै विशेष रुपमा मानेका देवताहरूका प्रमुख तथा स्वर्गका राजा इन्द्र र मष्टो मण्डाल्नी भनिने स्वस्थानी देवीकै मण्डलकी एक महारानी इन्द्रायणी कै ‘जाया’ (सुपुत्र) का रुपमा उनको स्थान निरुपण गरिएको छ । यति मात्र नभएर १६ बहिनी दुर्गाहरू अर्थात लक्ष्मी पार्वती र सरस्वतीकै प्रतिरुप मानिने शक्ति स्वरुपा हिन्दूकी आराध्यदेवीहरू मष्टोका साख्खै बहिनी भएको कुरा मष्टो सम्बन्धी आधारभूत एवम् प्रमाणित कृति कुशा भट्टको फागले नै वर्णन गरेको छ ।

कुशा भट्टको फागले नै मष्टो जुम्लाको जालन्धरमा जन्मेको प्रमाणित गरेकोले जालन्धर राजाले राज्य गरेको हाल कालिकोटको रास्कोटमा मष्टोको जन्म भएको पुष्टि हुन्छ । रास्कोटका पूर्व राजखलकहरूलाई अहिले पनि गाली गरेर ‘टोट्के हितान’ भन्ने गरिन्छ । खर्सुको रुखको टोट्कामा जन्मेका मष्टोका पिता अलकापुरीको राजा थिए र सकबहादुरका नामले जानिन्थे । उनले २० औं वर्ष देवादिदेव महादेवको तपस्या गरेपछि आफ्नो राज्य प्रदान गर्दै सकबहादुरको नाम देवराज इन्द्र राख्ने काम देवादिदेवले गरेको प्रसङ्ग हिमवतखण्ड जस्तो अति विशिष्ट ग्रन्थले गरेको छ । महादेवले प्रदान गरेको पृथ्वीको राज्य इन्द्रले मष्टोलाई प्रदान गरेको पनि कुशाभट्टको फागले वर्णन गरेको छ ।

वेदको मात्र होइन देशका समग्र हिन्दू मन्दिरहरूको रक्षा पनि मष्टो र उनका सेनापति कालसैनले गरेको र स्वयम् कालसैनले ज्वालाजी माई उत्पन्न शीरस्थानको रक्षा गरेका छन् भने उनका भाइ ठांगीले नाभिस्तानको रक्षा गरेको दुल्लु (दैलेख) पञ्चकोशी दर्शन गर्दा थाहा हुन्छ ।

मष्टो र मष्टोले रक्षा गर्ने धर्म ग्रन्थमा आधारित सोचलाई हिन्दू शब्दले किन विभूषित गरियो यसबारे कैलाश पुराण (कांग्री कार्चाक) अध्ययन गर्नु पर्छ । कैलाश पुराणले प्राचीन (वैदिक) कालमा कर्णालीको नाम सिन्धू र हालको सिन्धूको नाम सीता भनी उल्लेख गरेको छ । सिन्धु शब्दको सिन्बाट चीन बनेको छ । सिन्धूघाटी सभ्यता सिन्धु प्रान्त आदि बनेको छ । यसै शब्दलाई अंग्रेजहरूले इन्दुज भन्ने भएपछि त्यसैबाट इण्डिया, इण्डोनेसिया, इण्डो चाइना, इण्डियन ओशन र रेड इण्डियन बनेको छ । यसलाई कर्णालीमा स र ह को मध्यको एक विशेष अक्षरबाट उच्चारण गर्दा सिन्धूबाट हिन्दू शब्द र हिन्दू धमर्, हिन्दूस्तान आदि शब्दहरू बनेको देखिन्छ । सिन्धू शब्दबाटै चीनको राष्ट्रिय धर्म सिन्ताओ र जापानको शिन्तो धर्म बनेको छ । सिनबाटै मंगोलिया साइवेरिया आदिको राष्ट्रिय धर्म सियान पनि बनेको देखिन्छ । हिन्दू शब्द यति व्यापक छ कि यसभित्र समग्र धर्म संस्कार संस्कृति र पुरै मानव सभ्यता अटेको छ । अहिले विश्वमा चलेको सभ्यताको द्वन्द्वको हिसावले पश्चिमाहरू जगतमा जेठो हिन्दू सभ्यता बिरुद्ध धर्मयुद्ध चलाइरहेका छन् । त्यसै अन्तरगत मष्टो देवतालाई हिन्दू धर्मबाट पृथक बनाएर नेपाली हिन्दूहरूको जनसंख्या घटाएर ८१% जनसंख्या भएका हिन्दूहरूको हिन्दू राष्ट्र बनाउने आन्दोलनलाई समाप्त पारेर हाल धर्मनिरपेक्ष बनाइएको सम्बिधानलाई आम हिन्दू विरुद्ध प्रयोग गर्ने षडयन्त्र केही हिन्दू नाम धारण गरेका भित्रभित्रै परचक्रीहरूका लोभीपापी षडयन्त्रको शिकार भएका तत्वहरू लागेको र नचाहिदा प्रचारवाजी गरिरहेको पाइएको छ । प्रत्येक नेपाली हिन्दू मष्टो पूजक हुन् । जहाँ मष्टो हुन्छ त्यहाँ हिन्दूको स्वस्तिक चिन्ह र त्रिशुल हुन्छ । मंगोलीयाको सुल्दे टेग्रींको मन्दिरमा समेत विशाल स्वस्तिक चिन्ह र महादेवको त्रिशुल खडा छन् । धर्मका रक्षक पृथ्वीपति मष्टोदेवबारे सबै हिन्दूहरू सचेत बनौं ! विदेशी विधर्मीहरूका षडयन्त्रहरूलाई पूर्णरुपमा परास्त गरौं । जय गोरख ! !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।