0 COMMENTS

 काठमाडौं  २४,चैत्रसवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

‘यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’ उनले भने, ‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं।’ कोभिड–१९ का कारण सवारीचालक अनुमतिपत्र झन्डै १० महिना ठप्प भएको थियो। १० महिनासम्म अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुँदा करिब ७ लाख सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भरेका छन्।

नागरिक दैनिकले लेखेको छ।

विभागले सेवाग्राहीको अत्यधिक चाप भएकाले पनि अहिले नयाँ निर्देशिका ल्याएर यसअघि फेल भएका सेवाग्राहीको संख्या घटाउन लागेको हो। प्रवक्ता भुसालले संघीय सरकारमातहतको विभागले प्रदेश सरकारमातहत रहेका यातायात व्यवस्था कार्यालयहरूलाई सवारीचालक अनुमतिपत्र लिने ट्रायल सेन्टर र जनशक्ति पनि थप गर्न सिफारिस गरेको बताए।

‘अहिले लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राही अत्यधिक छन्। त्यसैले पनि कर्मचारी र सेन्टर थप गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिन अनुरोध गरेका छौं,’ उनले भने। कोभिड–१९ को संक्रमण बढेसँगै अहिले दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन खरिद गर्नेको संख्या उल्लेख्य मात्रामा बढे पनि सरकारले लाइसेन्ससम्बन्धी आवश्यक निर्णय नगर्दा लाखौं सेवाग्राही मर्कामा परेका छन्। विभागका प्रवक्ता भुसालले करिब ६ लाख सेवाग्राहीले ट्रायल दिन बाँकी रहेको बताए। ‘अहिले धमाधम ट्रायल परीक्षा सञ्चालन भइरहेको छ तर अपेक्षित मात्रामा संख्या बढाउन सकेका छैनौं,’ उनले भने, ‘नयाँ निर्देशिकाले पनि ट्रायल दिनेको संख्या क्रमशः घट्दै जानेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।